२७ आश्विन २०७५, शनिबार

काठमाडौं, २७ असोज । उज्ज्वल तारा स्कुल काँडाघारीले बडादशैंको अवसरमा शनिबार दोस्रोपटक ‘दशैं रन फर गुड हेल्थ’ आयोजना गरेको छ । प्रतियोगिताको विभिन्न १७ वटा विधामा ५१ जनाले पदक जितेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका, मेगा बैंक लि., हाम्रो मेलमिलाप सहकारी संस्था तथा फिटनेश च्वाइसको सहयोगमा आयोजित सो दौड प्रतियोगितामा १५ वर्ष माथिका विद्यार्थी, युवायुवती, अभिभावक, सुरक्षाकर्मीदेखि ४० वर्षमाथिका महिला र पुरुष समेत गरि ६५० जनाले भाग लिएका थिए ।

१७ वटा विधामध्ये १५ देखि २० वर्ष उमेर समूहको पुरुषतर्फ प्रविण बोहोरा, सागर श्रेष्ठ, सुमन न्यौपाने तथा ३ किमी महिलातर्फ श्रयस्का शिल्पकार, रेस्टिना सितीखु र प्रकृति सुवाल क्रमशः पहिला, दोस्रा र तेस्रा भएका थिए । दौडको साथै महिलाका र पुरुषहरुका लागि ५ किलोमिटर हिड्ने प्रतियोगिता समेत समावेश गरिएको थियो ।

प्रतियोगिताका विजयीलाई मेगा बैंक लिमिटेडका अध्यक्ष भोजबहादुर शाह, कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख विन्दु पुडासैनी सिंखडा, ८ नंका अध्यक्ष श्रीकृष्ण चापागाइ, ९ नं अध्यक्ष कुन्दन खड्का, विद्यालयकी सल्लाहकार शुश्मा पोखरेल, फिटनेश च्वाइसका अध्यक्ष उत्तम सिलवाल, कार्यक्रम संयोजक कर्णेल विष्णु बहादुर कार्की, विद्यालयका अध्यक्ष गायत्री कार्की, प्रिन्सिपल सम्झना पोखरेल शाह, हाम्रो मेलमिलाप सहकारी संस्थाका अध्यक्ष रामेश्वर दाहाल, नेपालको पहिलो व्यवसायीक गल्फ खेलाडी घनश्याम थापा तथा समाजसेवी सुनिल कटुवाल लगायतले ट्रफि, पदक र प्रमाणपत्र वितरण गरे ।

स्वास्थ्यबारे सचेतना, मनोरञ्जन तथा बडादशैंको शुभकामना आदानप्रदान गर्ने उद्धेश्यसहित विद्यालय प्रांगणबाट शुरु भएको सो दौड प्रतियोेगिताको वरिष्ठ मुटुरोग विशेषज्ञ डा।भगवान कोइरालाले उद्घाटन गरेका थिए।

जयराम पहिलो

जयराम महर्जन खुला भेट्रान टेबलटेनिस प्रतियोगिताको ४० वर्षमाथि पुरुष सिंगल्समा शनिबार पहिलो भएका छन् । निकेशप्रसाद जोशी दोश्रो तथा उमेश मानन्धर र सुमन शाक्य तेश्रो भए । नेपाल भेट्रान टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगितको ५० वर्षमाथि पुरुष सिंगल्समा ध्रुव पालिखे पहिलो, सुनील शाक्य दोश्रो तथा अग्र विष्ट र किरण व्यञ्जन्कार तेश्रो बने ।

६० वर्षमाथि पुरुष सिंगल्समा उदयमोहन श्रेष्ठले स्वर्ण, पुण्य पौडेलले रजत तथा शैलेन्द्र जोशी र सुशीलशमशेर जंगबहादुर राणाले कांस्य जिते । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताअन्तर्गत पुरुष डबल्समा राजन सुब्बा र उमेश मानन्धरको जोडी च्याम्पियन बने । धर्ममान वज्राचार्य र नवीनबहादुर शाक्यको जोडी दोश्रो भए । निकेशप्रसाद जोशी र किरण ब्यञ्जन्कार तथा ध्रुव पालिखे र सुनील शाक्यको जोडी तेश्रो स्थानमा रहे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV