२७ आश्विन २०७५, शनिबार

काठमाडौं । हिन्दुहरुको महान पर्व दशैं आउन अब केहि दिन मात्र बाँकी छ । दशैंको बेलामा आफू बसेको ठाउँको घर वा कोठा छोडेर मान्यजन बस्ने गरेका ठाउमा जाने क्रम धेरै हुन्छ । यस्तो समयमा आफू बस्दै गरेको ठाउको घर वा कोठामा कोही हुदैनन् । यस्तो समयमा तपाइका बहुमूल्य सामान वा नगद चोरी हुने खतरा पनि धेरै हुन्छ ।

यस्तै मौका छोपेर चोरले तपाइको लट्टीपट्टी पारेर सबै सामान चोर्न सक्छ । चोरी भयो भने तपाइको विजोग हुन सक्छ । त्यसैले हामीले तपाइमाझ विशेष ६ वटा तरिका प्रस्तुत गरेका छौंः

१. प्रविधिको प्रयोग

यसको लागि हामीले सुरक्षा साइरनहरुको प्रयोग पनि गर्न सकिन्छ । यस्तै सीसीटिभी पनि प्रयोग गर्न सकिन्छ । तर, यसको लागि तपाइले केही खर्च गर्नुपर्ने हुन्छ । आफ्नो सामानको सुरक्षामा तपाइ सम्बेदनशील हुनुभयो भने चोरीको खतरा कम हुन्छ ।

२. मठमन्दिर जाँदा महंगो गहना नलगाउने

दशैंको बेलामा मठमन्दिर जाने प्रचलन पनि बढी छ । यसरी मठमन्दिरहरु जाँदा धेरै भड्किला गरगहना नलगाउने । यस्तो लगाएर मठमन्दिर जादा चोरीको खतरा बढी हुन्छ ।

३. घरमा बहुमुल्य सामान र नगद नराख्ने

बहुमूल्य सामान बैंकको लकरमा वा भरपर्दाे आफन्तलाई राख्न दिन सकिन्छ । यस्तै नगद पनि घरमा राखेर लामो समयको लागि घर छोडेर हिड्नु हुदैन । दशैंको बेलामा होस या अन्य कुनै पनि बेलामा लामो समय घर छोडेर परिवार नै वाहिर जादै हुनुहुन्छ भने घरमा बहुमूल्य सामान सकेसम्म नराख्नु होला ।

४. लोकेसन सार्वजनिक नगर्ने

सपरिवार कतै घुम्न गएको कुरा फेसबुक लगायतका सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने गरेको पनि पाइन्छ । सुरक्षाको दृष्टिकोणले यो राम्रो बानी होइन । आफू अहिले कहाँ छु भनेर लोकेसन सार्बजनिक गर्नु हुदैन ।

घरमा कोही पनि नभएको जानकारी कसैले पायो भने तपाइको घरमा चोरी हुन सक्छ । तपाइहरु कतै घुम्न गएको फोटो सामाजिक संजालमा राख्नु छ भने पनि घर फर्किसकेपछि राख्दा राम्रो हुन्छ ।

५. बाहिर निस्कनु छ भने सुरक्षा निकाय वा आफन्तलाई जानकारी दिने

यदि तपाई घर छोडेर कतै जादै हुनुहुन्छ भने नजिकको सुरक्षा निकायलाई जानकारी दिनुु उचित हुन्छ । त्यसरी जानकारी दिएको अबस्थामा सुरक्षा निकायले पनि आफ्नो किसिमबाट निगरानी गरिराखेको हुन्छ ।

यस्तै नजिकको आफ्नो आफन्त वा छिमेकीलाई पनि जानकारी दिएको खण्डमा उनीहरुले पनि तपाइको घर हेर्दिरहेको हुन्छ ।

६. झ्याल ढोका बलियो राख्ने

झ्यालमा सिसामात्रै छ भने ग्रील लगाउनु उचित हुन्छ । सीसा फुटाएर पनि चोरी हुन सक्ने भएकोले विकल्प सोच्नुपर्छ । तपाइ घरबाट बाहिर जादै हुनुहुन्छ भने झ्याल ढोका बलियोसँग लगाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV