२७ आश्विन २०७५, शनिबार

विरगञ्ज । चाडपर्व नजिकिँदै गर्दा मुलुकमा बिदेशी मदिरा र शक्तिवर्धक पेय पदार्थको खपत ह्वात्तै बढेको छ । अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर मूल्यका मदिरा र इनर्जी ड्रिक्स वीरगञ्ज नाका हुँदै भित्रिएको छ । अझ अन्य नाकाबाट भित्रिएका यस्ता पदार्थसमेतको तथ्यांक जोड्ने हो भने नेपालीहरु बढी बिलासी बन्दै गइरहेको देखिन्छ ।

यस वर्ष दशै तिहारलाई लक्षित गरी तीन महिनाको अवधिमा वीरगन्जको सुख्खा बन्दरगाहबाट मात्रै करिब दुई अर्ब रुपैयाँ मूल्य बराबरको मदिरा र इनर्जी भित्रिएको छ ।

चालू आर्थिक वर्ष २०७५\०७६ को साउन १ देखि असोज १५ सम्ममा वीरगन्जका नाका सिर्सिया सुख्खा बन्दरगाहमा दुई अर्ब ६० लाख ७८ हजार ९३३ रुपैयाँ मुल्यको एक करोड ६ लाख २६ हजार चार सय ८७ लिटर मदिरा र ईनर्जी ड्रिंक्स आयात भयो । गत आर्थिक वर्ष २०७४÷०७५ को यही अवधिमा एक अर्ब १६ करोड ५८ लाख ९५ हजार ४५५ रुपैयाँको ८६ लाख ८८ हजार दुई सय ४५ लिटर मात्र मदिरा र इनर्जी ड्रिंक्स वीरगन्ज नाका हुदै आयात भएको थियो ।

तुलनात्मक रुपमा गत आर्थिक वर्षको साउन देखि असोज १५ सम्म सँढे दुई महिनाको अवधिको भन्दा चालु आर्थिक वर्षको त्यही अवधिमा ८४ करोड एक लाख ८३ हजार चार सय ७८ रुपैया बढी मुल्यको मदिरा र ईनर्जी ड्रिङ्क्स वीरगन्ज नाका हुदै नेपाल भित्रिएको हो ।

चालु आर्थिक वर्षको साउनदेखि असोज १५ सम्ममा वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह नाकाबाट मात्रै एक अर्ब २० करोड ७२ लाख रुपैयाँको ७५ लाख ९२ हजार सात सय ३३ लिटर मदिरा र ईनर्जी ड्रिङ्क्स आयात भएको छ ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सुर्य सेढाईँका अनुसार साँढे दुई महिनाको अवधिमा सुख्खा बन्दरगाहा नाका हुँदै सबै भन्दा बढी एक अर्ब १२ करोड दुई लाख ९४ हजार रुपैयाँको ७३ लाख ८८ हजार चार सय ४३ लिटर इनर्जी ड्रिङ्क्स आयात भएको छ ।

सोही अवधिमा सुख्खा बन्दरगाहा नाकाबाट भने सात करोड ३७ लाख ७० हजार ५६ रुपैया मुल्य बराबरको एक लाख ६७ हजार दुई सय तीन लिटर वाइन, ७७ लाख ९६ हजार ९० रुपैयाँको सात हजार सात सय आठ लिटर ह्विस्की, रम, भोड्का र जीन तथा ५४ लाख नौ हजार पाँच सय ९३ रुपैयाँको २९ हजार चार सय १९ लिटर बियर नेपाल भित्रिएको छ ।

वीरगन्ज नाका हुँदै नेपाल भित्रने सबै मदिरा र इनर्जी ड्रिङक्स, तेश्रो मुलुकबाट मात्रै आयात हुने गरेको सेढाईँले बताए । ईनर्जी ड्रिङ्क्स थाइल्याण्ड र भियतनामबाट, वाइन स्पेन र अष्ट्रोलियाबाट, बीयर स्पेन, ब्राजील, बेलायत, थाइल्याण्ड र स्कटल्याण्डबाट तथा ह्वीस्की, भोड्का, रम र जीन भने अष्ट्रेलिया, अमेरीका, बेलायत, जर्मनी, स्कटल्याण्ड र चीनबाट आयात हुने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV