२७ आश्विन २०७५, शनिबार

पाल्पा । पछिल्लो समयमा देशैभरि कामाथि बलात्कार जस्तो जघन्य प्रकृतिका बढिरहेको बेला इलाका प्रहरी कार्यालय रामपुरले सामाजिक अपराध विरुद्ध प्रशिक्षण कार्यक्रम गरेको छ । समाजमा गम्भीर प्रकृतिका अपराधहरू बढ्दै गइरहेको महिलाहरूलाई सचेत गराउनका लागि उक्त प्रशिक्षण कार्यक्रम गरेको हो ।

अशिक्षा, गरिबी, सामाजिक संस्कार, मूल्य मान्यता र परम्परा विपरीत भएका गतिविधिले गर्दा धेरैजसो महिला तथा बालबालिका पीडित हुने गरेकाले न्यायिक उपचार र कानुनी प्रावधानको बारेमा जानकारी गराउनका उक्त प्रशिक्षण दिइएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताए ।

महिला र बलिकाहरुमा पर्याप्त जानकारी समेत नभएको कारण आपराधिक मनसाय भएका मानिसहरूले सहज रूपमा अपराध गर्ने भएका हुनाले जर्बजस्ती करणी, जुवा तास, बालविवाह, साइबर अपराध, बोक्सी आरोप र विवाह सम्बन्धी कसुर लगायतका गम्भीर प्रकृतिका सामाजिक अपराधहरूबारे प्रशिक्षण दिइएको निरीक्षक पाण्डेयले बताए ।

कार्यक्रम रामपुर नगरपालिका वार्ड नं ६ को आयोजनामा गरिएको थियो । कार्यक्रममा उक्त वार्डमा बसोबास गर्ने विशेष गरी कुमाल समुदायका महिला तथा पुरुषहरू र अन्य समुदायका महिला गरी लगभग २०० जनाको संख्यामा सहभागी थिए ।

प्रशिक्षण कार्यक्रममा जर्वजस्ती करणी, जुवा तास, बालविवाह, साइबर अपराध, बोक्सी आरोप र विवाह सम्बन्धी कसुर लगायतका गम्भीर प्रकृतिका सामाजिक अपराधहरूको बारेमा प्रशिक्षणको क्रममा जानकारी गराउँदै यी अपराधहरू के कारणले घट्ने गर्दछन् ? र यी अपराधहरू नियन्त्रण तथा न्यूनीकरण गर्न प्रहरीको अलावा स्थानीय निकाय र समाजमा रहेका निकायहरूले के कस्तो भूमिका निर्वाह गर्न सकिन्छ ? भन्ने विषयहरूमा सहभागीहरूलाई प्रशिक्षित गरिएको थियो ।

सो कार्यक्रममा स्थानीय वडाका अध्यक्ष लगायतका अन्य जनप्रतिनिधिहरू समेत सहभागी थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक पाण्डेले प्रमुख प्रशिक्षकको रूपमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए, भने कार्यक्रमको प्रमुख अतिथिको रूपमा रामपुर नगरपालिकाका प्रशासकीय अधिकृत ज्ञानराज कोइराला थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV