२७ आश्विन २०७५, शनिबार
  • अमर काफ्ले

इनरुवा । इनरुवा अस्पतालमा सर्वसाधारणको उपचारका लागि खरिद गरिएको उपकरण नै गायब भएको खबर बाहिर आएको छ ।

नाक, कान, घाँटीको उपचारमा प्रयोग हुने पिटिए मेसिन करिब तीन महिनायता कहाँ छ भन्ने अत्तोपत्तो नै छैन । स्वयं अस्पताल प्रशासन र कर्मचारीमा समेत दुईमत रहेको पाइएको छ । कोहीले मेसिन अस्पतालमै रहेको दाबी गरे पनि काेहीले भने उक्त मेसिन व्यक्तिगत प्रयोजनमा अस्पतालबाहिर प्रयोगमा रहेको दाबी गरेका छन् ।

साढे तीन लाखको मूल्यमा अस्पतालले खरिद गरेको सो मेसिनबाट तत्कालिन समयमा डा. प्रविद गजुरेलले सेवा दिँदै आएका थिए ।

गजुरेलको करार अवधि सकिएसँगै उनी इनरुवा अस्पतालबाट अन्यत्र गएका छन् । डा. गजुरेल बाहिरिएसँगै कान, कान, घाँटीको सेवा प्रभावित मात्रै बनेको छैन, मेसिन समेत गायब भएको छ । जुन कुरा यतिबेला बाहिरिन पुगेको छ ।

अस्पताल प्रशासन र कर्मचारीले मेसिनको बारेमा खुलेर बोल्न चाहेनन् । उनीहरुले अस्पताल हाताभित्रै थन्किएको अवस्थामा मेसिन रहेको बताए पनि इनरुवा अस्पतालकी मे.सु. डाक्टर बिना शाक्यले भने सो मेसिन डा. प्रविदसँगै बाहिर गएको बताएकी छिन् ।

मेसिन फिर्ता गर्न पटकपटक आग्रह गरिएको बताएकी शाक्यले आफूलाई ७ दिनको म्याद दिन डा. प्रविदले भनेको बताइन् । डा. प्रविदले समय मागेको शुक्रबार तीन दिन बितेको छ । सात दिनपछि समेत सामान फिर्ता नआए आफू एक्सनमा उत्रिने शाक्यको भनाइ छ । यद्यपि करार समय सकिएर अन्यत्र गएका डा. प्रविदउपर कस्तो कार्वाही हुने हो सो बारे भने इनरुवा अस्पतालले खुलाएको छैन ।

यता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल राजभण्डारी मेसिन गायब भएको विषय जानकारीमा आएकाले वास्तविकता जानकारी गराउन अस्पताल प्रशासनलाई भनिएको बताउनुभयो । अस्पतालको सम्पत्ति बाहिरी व्यक्तिले आफूखुशी प्रयोजनमा ल्याउन नपाइने भएकाले त्यस्तो भएको पाइए सम्वन्धित व्यक्तिउपर कार्वाहीको प्रकृया चालिने भण्डारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV