२६ आश्विन २०७५, शुक्रबार

काठमाडौं, २६ असोज । सन् २०१७ को चर्चित सामाजिक सञ्जाल अभियान मि टु यतिबेला पुनः चर्चाको शिखरमा छ । यौन दुव्र्यवहारको विरुद्धमा एक हुन गरिएको अभियान एक वर्षपछि पुनः ब्यूतिँदा भारतको राजनीति, कला जगतसहित नेपालमा समेत प्रवेश पाएको छ ।

हलिउड अभिनेत्री एलिसा मिलानोले आफ्नो सामाजिक सञ्जालमा यौन दुव्यर्वहारमा परेको भए ‘मि टु’ लेखेर आफ्नो अनुभवलाई रिप्लाई गर्न आग्रह गरेकी थिइन् । उनको एक ट्वीटका कारण हजारौं महिलाले ‘ह्यासट्याग मि टु’ लेखेर आफ्नो अनुभव सामाजिक सञ्जालमा राख्नेक्रम बढेपछि ‘मि टु’ ट्रेन्ड स्थापित भयो । त्यसको दुई वर्षपछि भारत हुँदै नेपालमा पनि यो मुभमेन्टले प्रवेश पाएको छ ।

अभिनेत्री तनुश्रीले नाना पाटेकर विरुद्ध दुव्र्यवहारको आरोप लगाएपछि भारतमा यो मुभमेन्ट चर्किन थालेको छ । १० वर्ष अघि भएको दुव्र्यवहारविरुद्ध उनले प्रहरीमा उजुरी गरेकी छन् । केही दिनदेखि यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ । पूर्व सञ्चारकर्मी मीना कैनीले आफूमाथि भएको दुव्र्यवहारको नाम नै तोकेर अनुभव सामाजिक सञ्जालमा पोष्ट गरिन् ।

उनीसँगै सञ्चारकर्मी, फिल्मकर्मी एवम् डकुमेन्ट्री मेकर सुविना श्रेष्ठले मन्त्रीबाट भएको दुव्र्यवहारको पर्दाफास गरिन् । उनीसँगै बिम्मी कालिन्दा शर्मा र अरु धेरै व्यक्तिले मि टुको बारेमा खुलेरै लेखेका छन् । आफूले भोगेका दुव्र्यवहारका साथै के कस्ता समस्या आएका छन्, यसका बारेमा बताईरहेका छन् । सन् २००६ मा टुराना बर्कले सुरु गरेको यो ट्रेन्मा अहिले विश्व नै सामेल भएको छ । यो अभियान यौनजन्य दुव्र्ययवहारमा परेका तर त्यस विषयमा बोल्न नसकेकाहरुका लागि सुरु भएको थियो ।

यो ट्रेन्ड अहिले यति प्रभावकारी भएको छ कि केही साता अघि मि टु कै कारण अमेरिकी न्यायाधीशमा नियुक्त ब्रेट क्याभानो विवादमा आएका थिए भने यसले चर्चित फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोलाई पनि छोडेन । तर, जहाँ त्यस्ता प्रमाण छैनन् र जहाँ केवल आरोप छ, त्यहाँ कतिपय महिलालाई मानहानी तथा कानूनी कारबाहीका धम्की आउन थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV