२६ आश्विन २०७५, शुक्रबार

काठमाडौं, २६ असोज । दशैं र तिहारलाई लक्षित गरी चीनबाट आयात गरिएका लत्ताकपडा केरुङ–रसुवागढी नाकामै रोकिँदा एकातिर उपभोक्ताले इच्छाएको किन्न पाएका छैनन् भने अर्कातिर मूल्य पनि अधिक छ । दशैं लक्षित सामान लोड गरिएका कन्टेनर करिब तीन महिनादेखि सहजरुपमा काठमाडौं आउन सकेका छैनन् ।

भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका पूर्णरुपमा बन्द हुँदा रसुवागढी–केरुङतर्फ चाप बढ्यो । तर, विशेषतः बर्खायाममा सडक अवरुद्ध हुने समस्याले आयात–निर्यात प्रभावित हुन्छ । साउन ११ देखि भदौ २६ गतेसम्म सडक पूर्णरुपमा अवरुद्ध भयो । जसका कारण दशैं–तिहार र जाडोयाम लक्षित सामान बोकेका कन्टेनर काठमाडौं आउन सकेनन् । व्यापारीका अनुसार त्यसबेला लोड गरिएका करिब एकसय वटा कन्टेनर सीमापारी नै रहँदा झण्डै ५० करोड बराबरको सामान गोदाममै थन्किरहेको छ । दशैंको समयमा पर्याप्त सामान आइनपुग्दा यसको प्रत्यक्ष प्रभाव मूल्यमा परेको छ ।

व्यापारीका अनुसार उच्च मागका बेला पनि उपभोक्ताको रोजाई पूरा गर्न नसक्नुको मूल कारण सडकको असहजता नै हो । कतिपय व्यापारीले अघिल्लो बर्ष नै मगाएका सामानसमेत काठमाडौं आइपुगेको छैन । चाडबाडलाई भनेर आयात गरिएको सामान नाकामै थन्किदा बढ्ने व्ययभार अन्तत उपभोक्ताकै थाप्लामा पर्छ ।

पर्याप्त सामान नआएका कारण व्यापारीले अघिल्लो बर्षको ‘स्टक’ नै बेचिरहँदा उपभोक्ता चर्को मूल्य तिरेर पनि फेसन गएका र गुणस्तरहीन कपडा किन्न बाध्य छन् । प्रायः ठूला सपिङ कम्प्लेक्स र मल पुरानै सामानमा केन्द्रित हुँदा उपभोक्ता त्यहाँ बढी ठगिने संभावना छ । व्यापारीका अनुसार झन्झटिलो भन्सार प्रक्रिया र ब्राण्डअनुसारको भन्सार शुल्कले पनि आयात प्रभावित भइरहेको छ ।

LIVE TV