२६ आश्विन २०७५, शुक्रबार
  •  राजु पौडेल

झापा । झापाको दमकमा ३ खर्व ३३ अर्बको लगानीमा निर्माण हुने भनिएको औद्योगिक पार्क निर्माणका लागि जग्गा अधिग्रहण कार्य अन्तिम चरणमा पुगेको छ । करिब दुई हजार दुई सय बिघा जमिनमा बन्न लागेको पार्कका लागि ९ सय ४२ बिघा जमिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा आइसकेको छ भने यसको चार किल्लामा पर्ने जमिन अधिग्रहण प्रक्रिया समेत अन्तिम चरणमा पुगेको छ ।

झापाको दमकस्थित पूर्वपश्चिम राजमार्गबाट करिव १२ किलोमिटर दक्षिणमा पर्छ, निर्माणाधीन औद्योगिक पार्क । चीन सरकारले वान रोड वान बेल्ट (ओवर) अन्तर्गत दमकमा औद्योगिक पार्क बनाउने भएपछि त्यसका लागि आवश्यक जग्गाको अधिग्रहण भैरहेको हो ।
दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको सिमानामा औद्योगीक पार्क निर्माण हुने भएको छ । पार्कका लागि त्यस क्षेत्रमा २ हजार २ सय बिगाह क्षेत्रफल जग्गा आवश्यक रहेकोमा ९ सय ४२ बिगाह सरकारी जमिन रहेको छ ।

बाँकी जमिनका लागि सम्बन्धित जग्गाधनीलाई जग्गा अधिग्रहणका लागि दर्ता गराउन गत फागुन १४ गते पहिलो सुचना प्रकाशन गरिएको औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेड जग्गा प्राप्ति सम्बन्धि सम्पर्क कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पहिलो सुचना अनुसार सम्बन्धित क्षेत्रका नागरिकबाट ४ सय १० बिगाह जमिन अधिग्रहणका लागि आवेदन आएको र उक्त जग्गाको दशैं लगत्तै मुआब्जा वितरण दिने तयारी रहेको कार्यालयले जनाएको छ । यस क्षेत्रमा औद्योगिक पार्क बन्ने तयारी भएपछि यस क्षेत्रका बासिन्दामा पनि उत्साह जागेको छ । ‘औद्योगिक पार्क बन्ने भनेर पुरा चर्चा चलेको छ’ दमक—१० का मिदुल धिमालले भने, ‘यो बन्यो भने त हामीलाई धेरै राम्रो हुन्छ जस्तो लाग्छ ।’

औद्योगिक पार्क जाने सडकको स्तरोन्नतिसहित पिच गर्ने, खोला तटबन्धन गर्ने, जग्गा व्यवस्थापनका लागि सहयोग गर्ने, आवश्यक पुल तथा कल्भर्ट निर्माण गर्ने काम पनि तीव्र रूपमा भइरहेको दमक नगरपालिकाले जनाएको छ । औद्योगिक पार्क जाने सडक निर्माणको काम केही महिनाभित्र नै कालोपत्रे हुने बताइएको छ ।

औद्योगिक क्षेत्रका लागि प्रस्तावित दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका जोड्ने गरी पुल निर्माण समेत थालिएको छ । गत चैत १० देखि पुल निर्माण कार्य सुरु भएको निर्माण कम्पनी शर्मा–अनक जेभीले जनाएको छ  ।

यसले दमक १०, सेतुमारीदेखि गौरादह ८ जोड्नेछ  । सरकारको ३६ करोड लागतमा पुल निर्माण हुन थालेको कम्पनीले जनाएको छ । ३ सय मिटर लम्बाइ तथा १० दशमलव ५ मिटर चौडा हुने पुल डेढ वर्षभित्र निर्माण गरिने लक्ष्य लिइएको छ ।

दमक वडा नम्बर १० का वडाध्यक्ष बोधराज न्यौपानेका अनुसार आफ्नै क्षेत्रका प्रधानमन्त्री बन्नुभएका केपी शर्मा ओलीले पार्कलाई महत्व दिनु भएकाले पार्कको काममा तीव्रता आएको बताउनुभयो । जग्गा व्यवस्थापनमा कुनै समस्या हुन नदिन र आवश्यक सहयोग गर्न स्थानीयस्तरमा समेत समिति बनाएर आफूहरू लागेको उहाँले बताउनुभयो । ‘पहिलो लटको जमिनको मुल्य तोकेर भुक्तानी गरेपछि औद्योगिक क्षेत्रको विस्तार कहाँ—कहाँ गर्ने भन्ने टुंगो लाग्छ’ दमक—१० का वडाध्यक्ष बोधराज न्यौपानेले भने, ‘जे होस् पहिलो जस्तो पार्क बन्ने नबन्ने भन्ने अन्योल अब हटेको छ ।’

गत वर्षको पुस महिनामा चीनको ल्हासा स्थित आर्थीक तथा प्राविधिक बिकास क्षेत्रका अधिकारीहरुले यस क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । ४ वटा ब्लक रहेको यो क्षेत्रमा उक्त टोलीले ब्लक ए को स्थलगत अवलोकन गरेको थियो । दमक नगरपालिकाका अनुसार चीन नेपाल यूइ इन्ड्रस्टियल पार्क निर्माणका लागि समझदारी पत्र (एमओयू) समेत भैसकेको छ । यसको डिपिआर निर्माणको अन्तिम तयारी भैरहेको नगरपालिकाले जनाएको छ ।

यस क्षेत्रमा औद्योगिक पार्क निर्माण भैसकेपछि प्रत्यक्ष र अप्रत्यक्ष गरि १० लाख बढिले रोजगार पाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV