२६ आश्विन २०७५, शुक्रबार

ललितपुर, २६ असोज । ललितपुरको कृष्ण मन्दिर र पूर्णचण्डी मन्दिरका पूजारी साथै कार्तिक नाचका गुरु र नृसिंह खलक राजोपाध्यायहरुको महाःद्यःननि आगमघरको अस्तित्व संकटमा परेको छ । महाःद्यःननि आगमघर गुठीका गुठीयार राजोपाध्यायहरुले आज ललितपुरमा पत्रकार सम्मेलन गर्दै ऐतिहासिक साँस्कृतिक महत्वका आगमघरहरुको संरक्षणमा राज्यको स्पष्ट नीति नहुँदा अस्तित्व संकटमा परेको बताएका हुन् ।

जीर्ण अवस्थामा रहेको महाद्यःननि आगमघरको बाहिर नै गरिएको पत्रकार सम्मेलनमा बोल्दै आगमघर गुठीका गुठियार रविन्द्रधर शर्माले आगमघरको संरक्षण हुन नसक्दा योसँग सम्बन्धित साँस्कृतिक गतिविधि समेत प्रभावित हुनलागेको बताए ।

अहिले आगमघरको जिर्णोद्धार तत्काल गरिहाल्नुपर्ने अवस्था रहेको तर जीर्णोद्धारको लागि प्रक्रियागत समस्याहरु हुँदा समस्या भएको शर्माको भनाई थियो । पूर्णचण्डी मन्दिर र कृष्ण मन्दिरको नित्य पूजाको साथमा कार्तिक नाचको नृसिंह अवतारको समेत तान्त्रिक पूजा अहिले प्रभावित भइरहेको शर्माले बताए । यस किसिमका आगमघरको स्वामित्व राज्यले गुठीलाई पनि नदिने र राज्य आफैंले पनि संरक्षण नगर्ने अवस्थामा समस्या भएको बताइएको हो ।

‘यहि आगमघरमा कृष्णमन्दिर, पूर्णचण्डी मन्दिरसँग सम्बन्धित तान्त्रिक पूजाहरु पनि हुन्छ । कार्तिक नाचको नृसिंह अवतारसँग सम्बन्धित पूजा पनि गर्नुपर्छ’ गुठीका अर्का गुठीयार प्रतापधर शर्माले भने, ‘यो आगमघर बचाउन सकिएन भने कार्तिक नाचको नृसिंह अवतार बन्द हुने अवस्था समेत आउनसक्छ । आवश्यक पूजाविधि गर्नलाई आगमघर नै भएन भने कसरी नृसिंह अवतार प्रदर्शन गर्ने ?’ प्रतापधरको प्रश्न थियो ।

कार्तिक नाचका लागि नृसिंहको मुकुण्डो निर्माण गर्न यहि आगमघरमा तान्त्रिक विधिबाट पूजा सम्पन्न गर्ने गरिन्छ । साथमा बलि पूजा पनि यहिँ सम्पन्न हुने गर्दछ । कृष्णमन्दिर साथै पूर्णचण्डीको नित्य पूजाका लागी आवश्यक पर्ने फुल पनि यहि आगमघरको बारीबाट टिपेर लग्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV