२६ आश्विन २०७५, शुक्रबार

उर्लाबारी  । सामुदायिक विद्यालयमा प्राविधिक विषयको शिक्षा थप भएपछि विद्यार्थीको आकर्षण त्यसतर्फ बढ्दै गएको छ ।

उर्लाबारी–३ स्थित दुर्गा माध्यमिक विद्यालयमा व्यावसायिक शिक्षा तथा तालीम परिषद् (सिटिइभिटी) बाट मान्यता प्राप्त सिभिल ओभरसियर शैक्षिक कार्यक्रम शुरु भएपछि विद्यार्थीको आकर्षण प्राविधिक शिक्षातर्फ बढेको हो । सो विद्यालयमा सिभिल सव ओभरसियर कक्षा आजदेखि सञ्चालनमा आएको छ । सय बढी विद्यार्थीले आवेदन दिए पनि कोटा अनुरुप ४० जनाको मात्र भर्ना लिइएको विद्यालयका प्रधानाध्यापक शारदा पाण्डेले जानकारी दिए ।

रोजगारीको अवसर, आफ्नै पेशा सञ्चालनमा सहजजस्ता कारणले सिभिल ओभरसियरतर्फ विद्यार्थीको आकर्षण बढेको पाण्डेको भनाइ छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा उर्लाबारी– ३ का वडा सदस्य सोमप्रसाद तिम्सिना (राम)ले नगरपालिकाबाट प्राप्त आफ्नो तलब, भत्ता र सुविधाबापत एक वर्षको एक मुष्ट रकम विद्यालयलाई हस्तान्तरण गरे । उनले विद्यालयको अक्षय कोषमा रहने गरी रु एक लाख २५ हजार ५०० नगद विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारसमणि कुइँकेल र प्रअ पाण्डेलाई प्रदान गरे ।

 

LIVE TV