२६ आश्विन २०७५, शुक्रबार

काठमाडौँ । मदन पुरस्कार गुठीले विसं २०७४ सालको ‘जगदम्बा–श्री’ र ‘मदन पुरस्कार’ घाेषणा भएकाे एक महिनापछि प्रदान गरेको छ ।

ललितपुरको पाटनढोकामा बिहीबार एक विशेष समारोह अायाेजना गरी गुठीका अध्यक्ष कुन्द दीक्षितले दुवै पुरस्कार हस्तान्तरण गरेका हुन् । ‘जगदम्बा–श्री’ बाल साहित्यसेवी शान्तदास मानन्धरलाई तथा मदन पुरस्कार ‘योगमाया’ उपन्यासका लागि उयन्यासकार नीलम कार्की निहारिकालाई प्रदान गरिएकाे हो ।

सम्मानित मानन्धर बाल साहित्यको विकास, विस्तार तथा प्रवर्द्धनमा पाँच दशकदेखि समर्पित छन् । उपन्यासकार कार्की भने सशक्त नारी लेखिकाका रुपमा परिचित छिन् ।

Image may contain: one or more people, people on stage and indoor

वर्षभरि प्रकाशित उत्कृष्ट कृतिमध्ये एक कृतिलाई मदन पुरस्कार प्रदान गरिँदै अाएकाे छ भने जगदम्बा–श्री चाहिँ नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई प्रदान गरिँदै आएको छ । दुवै पुरस्कारको राशि रु दुई/दुई लाख रहेको छ ।

गुठीका अनुसार विसं २०७४ मा प्रकाशित भएकामध्ये २५३ पुस्तक प्राप्त भएका थिए । त्यसमध्ये ‘कैरुन’, ‘नथिया’,‘पाठशाला’, ‘भुइयाँ’,‘यार’ ‘योगमाया’, ‘लिम्बुनी गाउँ’ र ‘हिमाली दर्शन’ अन्तिम आठमा परेका थिए ।

विसं २०१२ मा स्थापित मदन पुरस्कार पहिलो पटक विसं २०१३ मा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’ सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभक स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई प्रदान गरिएको थियो ।

(तस्वीर : निलम कार्कीकाे फेसबुकबाट)

LIVE TV