२५ आश्विन २०७५, बिहीबार

जनतालाई वेबकुफ सम्झेर र भेडाको संज्ञा दिएर आफ्नो राजनीतिक दुनो सोझ्याउने सो कल्ड बरिष्ठ नेताहरुलाई सामाजिक संजाल मार्फत जनताहरुले गाला रन्किने गरि झापड दिइरहेका छन् । रामवीर मानन्धरको राजीनामा र बामदेव गौतम चुनाव उठ्न सक्ने प्रसंग बारे गत कार्यक्रममा केहि कुरा त भने, तर उहि पेट त भरियो तर मन भरिएन भने जस्तो भयो ।

त्यसैले आज थप कुरा भनेर मन पनि भर्न चाहान्छु । संविधानको धारा उपधारा भित्र रहेका झ्यालहरु चडेर, त्यसको गलत अभ्यास गरेर दिउँसै अँध्यारो पार्न खोज्ने बामदेव गौतमको चालले धेरैलाई कट्टु समेत नलगाई नंग्याइदियो । मतलब लाज नामको केहि पनि चिज बचेन ।

संभवत ! बामदेव गौतम काठमाडौं ७ को उपचुनाव उठ्दैनन् र केहि गरि उठिहाले भने पनि जित्लान् ? संचारकर्मीका नाताले धेरै नबोलौ तर व्यक्तिका रुपमा बाजी थाप्न तयार छु । नियम र नियतको वरपर रहेर केहि महासीधा कुरा राख्न चाहान्छु । एउटा मान्छे १ भन्दा बढी ठाँउबाट चुनाव उठ्न पाउने नियम गलत रैछ भन्ने चेत खुल्न जरुरी छ ।

यस्तो व्यवस्था रहिरहे भविष्यमा पनि बामदेव प्र्रवृत्ति, रावीर प्रवृत्ति देखिनेछ । अब नियतको कुरा गरौँ । आफ्नो योगदानको तारिफ आँफै गरेर नथाक्ने बामदेव गौतम ज्यु, देश र जनताको लागि योगदान दिन संसद जसरी पनि छिर्ने प्रपन्च अत्यन्त अस्वभाविक देखियो ।

रामवीरले राजीनाम दिएर आफ्नो कद उचो भयो भन्दा भाङ खानुभएको थिएन भने हेर्नुहोस चौतर्फी आलोचना र विरोधहरु । विभिन्न काण्डहरुले घट्दा घट्दा केही बाँकी रहेको तपाईको कद खोज्न गोताखोर चाहिने अवस्थामा पुगेको छ । तपाईबाट चरम फाइदा पाएका र तपाईबाट अझै फाइदा लिन सकिने बाहेक अर्को उदेश्य नभएका तपाईका भक्तहरुदेखि सावधान रहनुहोला ।

नेपाली राजनीतिमा योगदान दिएकै व्यक्ति हो तपाई । तर गलत कदमको पनि वाह वाही, रक्षा र छाती पिटेर समर्थन गर्ने राम होइनन् हनुमानहरुबाट कसरी बच्नु होला ! आफ्नो राजनीतिक इतिहास र थोरै भएपनि बाँकी रहेको कद जोगाउने हो भने यस्तो गलत कदमको पनि रक्ष गर्नेहरुलाई चिन्नुहोस् । यस्तो हुँदा पनि मलाई साथ दिने यी सबै मेरा मान्छे रहेछन् भन्ने बाहेक तपाईलाई अरु केहि पनि लाग्दैन थाहा छ । तपाई जस्तो चतुर राजनीतिक खेलाडीले आफ्नो पोलिटिकल करियर एउटा रामवीर काण्डमा स्वाहा पार्न हुन्न थाहा छ ।

तर विश्वास गर्नुस तपाईका भक्तहरुले र तिनका भक्तिले तपाईको योगदान, त्याग र परिश्रममा हाडीको मोसो भन्दा पनि कालो दाग लगाई छाड्छन् । त्यस्ता भक्तहरु कसरी चिन्ने भन्ने जिज्ञासा भए सुन्नुहोस्, तिनले सबै भन्दा पहिला अहिले मैले भनेको कुरा तपाईलाई आफ्नो सुविधा अनुसार सुनाइदिन्छन् र शायद तपाई र हाम्रो विचमा एउटा रेखा कोरी दिन्छन् ।

ढिलै भएपनि तपाईको आँखो अलि खरो तरिकाले खोलिदिने हाम्रो यो प्रयास एउटा दुश्मनीमा परिणत हुनेछ, तपाईका तर्फबाट, लेखेर राख्नुस् । तपाई गृहमन्त्री हुँदाका सुन काण्ड, प्रहरीमा ७ एआइजी र पछि १३ एआइजी काण्ड लगाएतका विषयमा पुर्व प्रहरी प्रमुख अच्युत खरेलको आत्मकथामा संकेत भएका बिषय बारे न कुरा गरौँ ।

जनमतको मानमर्दन गरी पार्टीको छवि डुबाउने यस्तो गलत अभ्यासबारे चुइक्क बोल्न नसक्ने नेकपा भित्रका युवा नेता, डर छेरुवा युवा नेताहरुले नबोलिदिदा, छक्क परियो, ट्वाँ परियो । गलतलाई गलत भन्न नसक्ने जाबाहरुले देश बदल्छु भनेर किन राजनीति गर्नु ?

राजनीति डरछेरुवाहरु र पद पाइएलाकी भनेर आशा गर्दा गर्दै कपाल फुलाउने र तालु खुइलाउने भुसुनाहरुको क्षेत्र होइन । यो ठुलो ड्यामेजलाइ्र्र नेकपाले कसरी कभर गर्छ थाहा छैन तर एउटा सल्लाह दिउ दिउ चाही लाग्यो । जनताको मतको अपहेलना गरेका रामवीर मानन्धरले देश विकास गर्न राजनीनाम दिएको हुँ भनेका छन् ।

५ वर्षका लागि जनताको मत बोकेर संसद छिरेको सांसदले १ वर्ष पनि नवित्दैै कस्तो विकासका लागि राजीनाम दिएको हो, त्यसको छानबिन नेकपाले गरोस् । एउटा आयोग बनोस् जसले उहाँको पछिल्लो गतिविधि, कल डिटेल र उनि लगायत उनका नातागोताको समेत बैंक एकाउण्ट चेक गरोस् ताकी उनलाई आफ्नो अमुल्य मत दिने जनतालाई उनि राम नै हुन कि हुनमान हुन भन्ने थाहा होस् ।

दुधको दुध पानीको पानी भन्ने उखानलाई केहि समय होल्ड गरेर चेञ्ज गरौँ र भन्न थालाैं रामको राम, हुनमानको हनुमान छुट्टीनु प¥यो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV