
धनुषा, २५ असोज : जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध छ ।
सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुला गरिएको हुन्छ । त्यही झ्यालबाट पूजार्चना गरेर फर्किनुपर्छ । त्रेतायुगमा राजा जनकको राजधानी जनकपुरमा राजदेवी माता जनकको कुलदेवीका रुपमा रहेको धार्मिक ग्रन्थमा उल्लेख छ ।
राजदेवी मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको जनविश्वास रहेकाले सो मन्दिरभित्र महिलाको प्रवेशमा रोक लगाइएको मन्दिरका पुजारी राम गिरीको भनाइ छ । त्यस्तै रजस्वला भएकाहरु पूजाका लागि आउने गरेकाले पनि मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको बताइएको छ । तान्त्रिक विधिमा पूजा हुने भएकाले पनि महिलालाई मन्दिरमा प्रवेश गर्न रोक लगाइएको हुन सक्ने केहीको अनुमान छ ।
परम्परा छाडेर अहिलेसम्म कुनै पनि महिलाले सो अवधिभर भित्र पस्ने आँट नगरेको स्पष्ट पार्दै महन्थ गिरी भन्नुहुन्छ, “विसं २०२० तिर नरेशानन्द गिरी नामका महन्थले यहाँको बलिप्रथा रोकेर बलि नचढाउँदा उनलाई अनिष्ट भएपछि क्षमापूजा गरी बलि चढाइएको थियो ।”
मन्दिरमा पूजापाठ तथा भाकल गर्दा मनोवाञ्छित फल पाउने जनविश्वास छ । सोही आस्थाका कारण दशैँका बेला राजदेवीमा पूजापाठ गर्न आउनेको भीड लाग्छ । महिलाकै रुपलाई मन्दिरभित्र राखी पूजा गरिए पनि महिलालाई नै पूजास्थलमा जान नदिनु न्यायसङ्गत नभएको अधिवक्ता रेखा झाले बताउनुभयो । झाले भन्नुभयो, “यो महिलामाथिको ठूलो विभेद हो । यसको पछाडि दिइने तर्कले महिलामाथि हालसम्म भइरहेको विभेदलाई नै प्रष्ट्याउने गरेको छ ।”
घटस्थापनादेखि नवमीसम्म मन्दिरमा महिलाको प्रवेशमा रोक लगाउनुलाई अधिकारकर्मी विनोद रविदास धर्मको नाममा धार्मिक अन्धविश्वासको एउटा पराकाष्ठा मान्छन् ।
यी सबै कुरा केही सङ्कुचित मानसिकताबाट प्रेरित व्यक्ति र वर्गबाट ल्याइएको तथा महिलाले दशैँमा मन्दिरभित्र भगवतीको पूजा नै गर्न नपाउने कुनै धर्ममा उल्लेख नभएको भन्दै यसको विरोध गर्नुपर्ने अधिकारवादी बताउँछन् ।
मानवअधिकारीवादी संस्था इन्सेक प्रदेश नं २ प्रमुख राजु पासवानले महिलामाथि विभेद हुने खालका यस्ता परम्परालाई हटाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले मात्र विधि र धर्मले सिकाएको हाम्रो परम्परा र संस्कृतिलाई अपनाउनुपर्छ न कि कसैले चलाएको गलत रीतिलाई, यस परम्परालाई परिमार्जन गर्नुपर्दछ ।”
उपभोक्ताका लागि दशैँ बजार
उपभोक्ताका सुविधालाई ध्यानमा राख्दै जनकपुरमा दशैँ बजार (सस्तो बजार) शुरु गरिएको छ । जनकपुर उद्योग वाणिज्य सङ्घको पहलमा ४२ वर्षदेखि सस्तो बजार आयोजना हुँदै आएको छ ।
बाहिरका बजारभन्दा सस्तो मूल्यमा दैनिक उपभोग्य सामग्री त्यहाँ पाउने बताइएको छ । दशैँका अवसरमा लाग्ने सस्तो बजारमा लुगा धुने साबुन र पाउडर, अगरबत्ती, चिनी, प्लाष्टिकका सामग्री, चियापत्तीलगायत सामग्री उपभोक्ताका लागि आकर्षण बनेको हुन्छ ।
सङ्घका अध्यक्ष तथा दशैँ बजारका सदस्य सचिव ललितकुमार साहले सर्वसाधारण उपभोक्ताको मागलाई ध्यानमा राखेर हरेक वर्षझैँ यस पटक पनि स्थानीय गोपाल धर्मशाला परिसरमा सस्तो बजारको आयोजना गरिएको बताउनुभयो ।
सस्तो बजार व्यवस्थापन गर्न गोपाल धर्मशालाभित्र करीब १०० कक्ष निर्माण गरिएको छ । सस्तो बजार लगाउन धर्मशालाभित्र ३४ र बाहिर ५५ कक्ष निर्माण गरिएको स्टल व्यवस्थापन संयोजक तथा जनकपुर उद्योग वाणिज्य सङ्घका महासचिव जितेन्द्र महासेठले जानकारी दिनुभयो । यही असोज ३१ सम्म चल्ने बजारमा धर्मशाला परिसरभित्र कक्ष लगाएका व्यापारीसँग प्रतिकक्ष रु १५ हजार र बाहिर प्राङ्गणमा प्रतिकक्षवापत रु नौ हजार शुल्क निर्धारण गरिएको छ ।