२५ आश्विन २०७५, बिहीबार

काठमाडौं, २५ असोज । जसरी पनि प्रतिनिधिसभामा आउने नेकपाका नेता वामदेव गौतमको प्रयास फेरि निरर्थक हुने संभावना बढेको छ । पार्टी भित्रैबाट भएको चर्को आलोचना र उप–निर्वाचन हुने भनिएको क्षेत्रमा जीत सुनिश्चित नदेखिएपछि बामदेवलाई फेरि ‘ब्याक’ हुनुपर्ने बाध्यता आइलागेको हो ।

काठमडौं–७ का सांसद रामवीर मानन्धरले मंगलबार बामदेव गौतमलाई ठाउँ दिन भन्दै आफूले राजीनामा दिने घोषणा गरे । उनको राजीनामासम्वन्धी लिखित प्रस्ताव नेकपाको सचिवालयमा समेत पु¥यो । केही नेताले सचिवालय बैठकमै चर्को आलोचना गरे ।

यस प्रकरणले सामाजिक सञ्जाल तताउँदा गौतम र मानन्धरको जनस्तरबाट पनि तीव्र आलोचना भइरहेको छ । बामदेवको व्यग्र चाहनाले पार्टीकै प्रतिष्ठामा प्रश्न उठेपछि नेकपा यसबाट सुरक्षित अबतरणको खोजीमा छ । भलै यसबारे नेताहरु सचिवालय वैठकमा छलफल नै नभएको दावी गर्छन् ।

अघिल्लो वर्षको चुनावमा बर्दियाबाट पराजय भएपनि संसद प्रवेशको व्यग्र चाहनामा रहेका गौतमलाई ‘उपयुक्त समयमा’ भन्दै नेताहरुले थुमथुम्याइ रहेका थिए । डोल्पा, बाँके, दैलेख हुँदै काठमाडौं–७ मा आँखा लगाएका गौतमका लागि रामवीर ‘सौदाबाजी’मा पद त्याग गर्न तयार त भए । तर, पदलोलुप भन्दै गौतमको चर्को आलोचना हुँदा मतदातालाई धोका दिन खोजेको भन्दै रामवीर पनि तावाको माछा भुङ्ग्रोमा भए ।

बामदेवलाई देखाइदिनु पर्छ भन्ने भावना पूर्व एमाले पंक्तिमा बढ्दा काठमाडौं–७ पनि उनका लागि अनुकूल नरहेको निश्कर्षमा नेकपा पुगेको ‘सिट गुमाउने गरी चुनाव हुँदैन’ भन्ने अध्यक्ष पुष्पकमल दाहालको भनाइले प्रष्ट पारिसकेको छ ।

मानन्धरको राजीनामा दिने घोषणासँगै नेकपाका नेता-कार्यकर्ता र मतदातासम्मको विरोधले गौतमको संसद हुने चाहनामा फेरि ‘ब्रेक’ लाग्ने निश्चित देखिएको छ । डोल्पाबाट सुरु भएको गौतमको दौडधुप काठमाडौं–७ मा आएर रोकिन्छ÷रोकिदैन त्यसको निरक्र्यौल गर्न नेकपालाई सहज भने छैन ।

 

LIVE TV