मकवानपुरमा टिष्टुङ महोत्सव आजबाट शुरु, करीब ५० हजारले अवलोकन गर्ने अपेक्षा



प्रकाशित मिति : Oct 11, 2018
  • देवराज पन्त

हेटौंडा, आश्विन २४ । ‘ऐतिहासिक टिष्टुङ हाम्रो पहिचान, समृद्ध टिष्टुङ हाम्रो अभियान’ भन्ने नारासहित उत्तरी मकवानपुरको थाहा नगरपालिकाको टिष्टुङ(बज्रवाराही) मा आज बुधबारबाट टिष्टुङ महोत्सव शुरु भएको छ ।

आगामी शनिबार सम्म सञ्चालन हुने महोत्सवलार्इृ तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले पर्यटन मार्फत् प्रशस्त रोजगारी सृजना गर्न सकिने भएकाले समृद्धिको सबैभन्दा महत्वपूर्ण पक्ष पर्यटन क्षेत्र भएको बताएका छन् । पर्यटन क्षेत्रको प्रशस्त सम्भावना ग्रामीण क्षेत्रमा रहेको जीकिर गर्दै उनले गाउँहरुमा होम स्टे (घरबास) सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । मेला, महोत्सवमा गाउँघरका उत्पादनलाई प्रद्धर्शन र बिक्री गर्नुपर्नेमा जोड दिदै समृद्धि हासिल गर्न त्यस्ता कार्यले सघाउ पुग्ने बताएका छन् ।

महोत्सवको उद्घाटन कायक्रममा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी, प्रतिनिधि सभाका सांसद विरोध खतिवडा, प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, मध्य नेपाल पर्यटन विकास समितिका अध्यक्ष अनन्त पौडेललगायतले आफ्नो धारणा राखेका थिए ।

शनिबारसम्म सञ्चालन हुने ४ दिने पहिलो टिष्टुङ महोत्सवमा १ सय ६० स्टल स्टल रहेका छन् । ५० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा करिब २१ लाख ५० हजार रुपियाँ खर्च हुने अनुमान गरिएको मूल आयोजक समारोह समितिका संयोजक ईन्द्रबहादुर श्रेष्ठले बताएका छन् ।

महोत्सवमा साँस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकारहरु, कृषि उपज प्रदर्र्शनी तथा बिक्री, घरेलु सामग्री प्रदर्शन तथा बिक्री, परम्परागत रुपमा ओखलबाट चिउरा तयार गर्ने कार्य, ऐतिहासिक तथा धार्मिक क्षेत्रको अवलोकनको अवसर महोत्सवमा मिलाईएको आयोजकले जनाएको छ ।

महोत्सव थाहा नगरपालिका–६ सरस्वती बजारमा सञ्चालन भएको छ । त महोत्सवमा टिष्टुङलाई चिनाउने र टिष्टुङको प्रवद्र्धन हुने खालका स्टलहरुलाई महोत्सवमा प्राथमिकतामा दिइएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com