२५ आश्विन २०७५, बिहीबार

काठमाडाैँ । नेपाल प्रहरीले अाज (बिहीबार) ६३ औं प्रहरी दिवस मनाएको छ । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति-सुरक्षा र अपराध अनुसन्धानमा नेपाल प्रहरी अझै व्यावसायिक हुनुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो एक वर्षको तथ्यांकमा ९० प्रतिशत अपराधका मामलामा प्रहरी सफल भएको देखिए पनि एउटै मात्र घटनामा असफल भएमा त्यसको क्षतिपूर्ति गर्न कठिन हुने प्रधानमन्त्री ओलीको भनाई थियो । सीमित श्रोत र साधनका बीच नेपाल प्रहरीले गरेको कार्यसम्पादनको प्रधानमन्त्रीले सराहना गर्नुभयो ।

उहाँले प्रहरी संगठनलाई समय सापेक्ष सुधारका लागि सरकारको ध्यानाकर्षण भएको पनि जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरी उत्कृष्ट पाँच सुरक्षा संगठनभित्र पर्न सफल भएकोमा बधाइ पनि दिनुभयो ।

समारोहमा नेपाल प्रहरीका आईजीपी सर्बेन्द्र खनालले अपराध अनुसन्धानमा प्रहरीलाई सबैको सही सहयोगको आवश्यकता पर्ने बताउनुभयो । प्रभावकारी र निश्पक्ष अनुसन्धानका लागि प्रहरीको बिकल्प हुन नसक्ने भन्दै आईजीपी खनालले एक दुई जना प्रहरी अधिकारीको कमजोरीमा अपराध अनुसन्धान असफल भएको मानिनु समग्र प्रहरीको योगदानको अवमूल्यन भएको बताउनुभयो ।

अपराध संगठित र जटिल हुँदै गइरहेको अवस्थामा प्रहरी संगठनलाई पनि आधुनिक, व्यवसायीक र दक्ष बनाउनुपर्ने आवश्यकता देखिएको आईजीपी खनालले बताउनुभयो ।

प्रहरी दिवसका अवसरमा दर्जनभन्दा बढी प्रहरीहरुलाई कार्यकुशलताका आधारमा पुरस्कृत गरिएको थियो । यस वर्ष नेपाल प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्डबाट भने पूर्व एआईजी अमरसिंह शाहलाई सम्मानित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV