२५ आश्विन २०७५, बिहीबार

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीकाे द्रुत टोली परिचालन कार्य योजना बुधबारबाट लागू गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बुधबारबाट लागू हुने गरी ट्राफिक प्रहरीकाे द्रुत टोली परिचालन कार्य योजनाकाे शुभारम्भ गरेका हुन् ।

काठमाडौं उपत्यका विभिन्न क्षेत्रहरूमा दशैँ, तिहार जस्ता चाडपर्वमा ट्राफिकको उचित व्यवस्था गर्न र जनताको जीउधनको सुरक्षा गर्ने कार्यलाई अझै प्रभावकारी बनाउन बुधबारबाट उक्त कार्य योजना शुभारम्भ गरेकाे महानिरीक्षक खनालले बताए ।

चारपाङग्रे सवारी साधनका कारण अपराध नियन्त्रणमा कठिनाइ भएपछि मोटरसाइकल परिचालन गरी सो कार्य योजना सञ्चालनमा ल्याउनुपरेको महानिरीक्षक खनालले जानकारी दिए । उनले भने, ‘काठमाडौंको कतिपय ठाउँहरूमा चार पाङ्गें सवारी साधनहरू लैजान गाह्रो हुने भएकाले ट्राफिक मोटरसाइकल परिचालन गरेका हौँ । काठमाडौं उपत्यकाका कुना कुनासम्म पनि ट्राफिक खटाइएको छ ।’ उनले थपे, ‘ट्राफिक प्रहरी आयो भने चिट नै काट्छ । जरिवानै गर्छ भन्ने कहीँ कहीँ बुझाई छ । त्यस तर्फ लक्षित हुने होइन ।’

महानिरीक्षक खनालले आफ्नो कामप्रति बफदार हुन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । उनले भने, ‘कुनै कसुर गरेको छ भने मात्र त्यो अनुसारको चिटहरू दिनुहोस् । सबै भन्दा ठुलो कुरो भनेको तपाइहरू ट्राफिक नियमको पालन गराउन तर्फ लाग्नुहोस् । त्यो गर्ने क्रममा व्यवहार एकदमै राम्रो हुनु पर्ने छ ।’ प्रहरीले ढिलासुस्ती नगरी आफूले सक्ने सेवा दिनु पर्ने समेत बताए । तत्काल सेवा दिनु नै जनताको लागि सबै भन्दा ठुलो कुरा भएको महानिरीक्षक खनालले बताए ।

कुनै ठाउँमा जाँदा ट्राफिकले पनि ट्राफिक नियमको पालन गर्नु पर्ने महानिरीक्षक खनालले बताए । उनले भने, ‘कुनै ठाउँमा जाँदा जेब्राक्रसमा ट्राफिक प्रहरीले मोटरसाइकल राखेको हुन्छ । त्यो कुरा तपाईँले सोच्न जरुरी छ । जेब्राक्रसमा मोटरसाइकलको स्टान आफैले लगाएर हिँड्ने होइन ।’ जथाभाबी मोटरसाइकल राखेर नहिँड्न समेत निर्देशन दिए ।

कार्यक्रममा बोल्दै प्रहरी प्रमुख खनालले काठमाडौँमा प्रहरीबाट धेरै नराम्रा काम भएको स्वीकारेका छन्। उनले भने ‘प्रहरीबाट धेरै नराम्रा कुरा भएका छन्, ती प्रहरीका किरा हुन्, यस्ता मान्छे गए मान्छे हुन्छ, जहाँ जान मन लाग्छ त्यहाँ गए हुन्छ, विदेश जान मन छ कि व्यापार गर्न मन छ गए हुन्छ । प्रहरीमा काम छैन,।’

खनालले राम्रो गर्दागर्दै नराम्रो भएमा आफूले सहयोग गर्ने बताउँदै तर बदमासी गर्न नपाइने प्रष्ट पारे। ‘प्रहरीभित्र बदमासी गर्नेलाई टिपेर फालिदिन्छु,’ खनालले भने ‘यो निर्देशन सिपाहीदेखि अधिकृत सबैका लागि हो, अब घुसको कुरा सुन्न नपरोस्, म सहने छैन।

पछिल्लो समय काठमाडौँमा प्रहरीबाट भएको घुस प्रकरणलाई इङ्गित गर्दै खनालले आफ्नो क्षमताले काम गर्न अरु ठाउँबाट हुन्छ भन्ने आश नगनु पनि आग्रह गरे। उनले केही ठाउँमा परिवर्तन भएको र अब अरु ठाउँमा त्यहीअनुरुप कारबाही गर्ने बताए।

एक महिने सो अभियानमा ५५ वटा मोटरसाइकल परिचालन गरिएको छ । टोलीमा ट्राफिक प्रहरी र जनपथ प्रहरी परिचालन गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिए ।

टोली काठमाडौं उपत्यका अन्तरगतको काठमाडौं, ललितपुर र भक्तपुरमा परिचालित हुनेछन् । कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले सो एक महिने कार्ययोजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । एक महिनापछि सो टोलीका लागि थप ४५ वटा मोटरसाइकलको पनि व्यवस्था गर्ने प्रहरी महानिरीक्षक खनालको योजना छ ।

उपत्यकाको नागरिकको सुरक्षा र ट्राफिकको उचित व्यवस्थापनका लागि सो टोली परिचालन गरिएको हो । टोलीले जनताको जीउधनको सुरक्षा गर्ने गरी आवश्यक अभियान पनि संचालन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV