२४ आश्विन २०७५, बुधबार

काठमाडौं, २४ असोज । काठमाडौंको घट्टेकुलोमा नेशनल मेडिकल कलेज सञ्चालनको प्रयास असफल भएपछि प्रस्तावित कलेजलाई अस्पतालमा रुपान्तरण गर्ने तयारी थालिएको छ । अपार्टमेन्टका लागि बनाइएको भवनमै अस्पताल सञ्चालनको अनुमति मागिएको हो ।

आवासीय प्रयोजनका लागि बनाइएको यो भवनमा तीनसय शैयाको अस्पताल चलाउने प्रस्ताव प्रस्तावित नेशनल अस्पतालले स्वास्थ्य मन्त्रालयमा पु¥यायो ।

अस्पताल सञ्चालनका लागि सरकारसँग अनुमति मागेपछि गरिएको अनुगमन भने प्रस्तावित नेशनल अस्पतालको विपक्षमा गयो । अनुगमन समितिले स्वास्थ्य संस्था स्थापना र सञ्चालन नीति, मापदण्ड एवं पूर्वाधार निर्देशिका २०६१ बमोजिम स्वीकृति दिन नसकिने निश्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझायो ।

पूर्वाधारका आधारमा पचास शैयाको अस्पतालसमेत सञ्चालन हुन नसक्ने अनुगमन समितिको ठहर छ । तर, सत्तारुढ नेकपा आवद्ध सञ्चालक बसुरुद्दिन अन्सारी शैया घटाएर भएपनि अनुमति फुत्काउने प्रयासमा छन् । मागअनुसार तीनसय शैयाको अनुमति नपाइने निश्चित भएपछि प्रस्तावित अस्पताल शैया घटाएर भएपनि अनुमति लिने ‘चलखेल’मा लागेको दावी छ । तर, मन्त्रालय भने प्रस्तावित नेशनल अस्पताललाई अनुमति दिने कुनै तयारी नरहेको दावी गर्छ ।

अनुगमन समितिका अनुसार २०७५ असार २४ गते स्थलगत अनुगमन र निरीक्षण गरी इन्कारी प्रतिवेदन दिएयता प्रतिवेदन उपर प्रति टिप्पणी आएको छैन । तर, मन्त्रालयको उच्च स्रोत भने शैया घटाएर भएपनि प्रस्तावित नेशनल अस्पतालाई अनुमति दिने तयारी भइरहेको दावी गर्छ ।

 

LIVE TV