२४ आश्विन २०७५, बुधबार

काठमाडौं । उज्ज्वल तारा स्कुल काँडाघारीले नेपाली हिन्दुहरुको बडा दशैंको अवसरमा यही २७ असोज शनिवार दोस्रो पटक ‘दशैं रन फर गुड हेल्थ’ प्रतियोगिता गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका, मेगा बैंक, हाम्रो मेलमिलाप सहकारी संस्था तथा फिटनेश च्वाइसको सहयोगमा सो दौड आयोजना हुन लागेको हो ।

स्वास्थ्यबारे सचेतना, मनोरञ्जन तथा वडा दशैंको शुभकामना आदानप्रदान गर्ने उद्धेश्य सहित विद्यालय प्रांगणबाट शुरु गरिने सो दौड महिलाका लागि ३ किलोमिटर तथा पुरुषहरुका लागि ५ किलोमिटरको दुरी निर्धारण गरिएको छ । विद्यालयका संस्थापक सल्लाहकार तथा कार्यक्रम संयोजक नेपाली सेनाका कर्णेल विष्णुबहादुर कार्कीका अनुसार सो दौडमा १५ वर्षदेखि माथिको उमेरका महिला तथा पुरुषले भाग लिन सक्नेछन ।

कर्णेल कार्कीका अनुसार सो दौडमा अभिभावक तथा वर्तमान या सेवा निवृत्त सुरक्षाकर्मी समेतले भाग लिन पाउनेछन । यसैगरि महिला तथा पुरुषका लागि ५ किलोमिटरसम्म हिँड्ने प्रतियोगिता पनि समावेश गरिएको छ । प्रतियोगितात्मक सो दौडका १७ वटा विधामा पहिलो, दोस्रो र तेस्रा हुनेलाई ट्रफि, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् । यसका लागि ५१ वटा ट्राफिक व्यवस्था मिलाइएको छ ।

यसै सिलसिलामा मंगलबार उज्ज्वल तारा स्कुलमा काँडाघारी क्षेत्रका सुरक्षाकर्मी, खेलकुदसंग सम्बन्धी संघ संस्था तथा स्थानीय जन प्रतिनिधिहरुलाई सहभागी गराइ छलफल कार्यक्रमको आयोजना गरियो । छलफलमा संयोजक कर्णेल कार्कीले दौडका विविध पक्ष तथा सुरक्षा र प्रतियेगिताका सहभागीहरुको स्वास्थ्यसंग सम्बन्धी विविध विषयमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV