२४ आश्विन २०७५, बुधबार

काठमाडौं, २४ असोज । दशैंको अभिन्न संस्कृति नै बनिसकेको छ, नयाँ नोट । नेपाल राष्ट्र बैंकले पनि यही संस्कृति पछ्याउँदै हरेक दशैंमा नयाँ नोट बजारमा पठाउँछ । नेपालमा कागजी नोटको प्रचलनको सुरुआत पनि २००२ सालको दशैंकै बेलादेखि गरिएको हो । पछिल्लो समय प्रयोग बढेसँगै नोटको आयु भने दिनप्रतिदिन घट्दै गएको छ ।

तत्कालीन राजा त्रिभूवनले २००२ सालमा आफ्नै तस्बिर अंकित १, २, ५ र १० रुपैयाँका नोट प्रयोगमा ल्याएका थिए । त्यसयता हालसम्म १५० प्रकारका कागजी रुपैयाँ प्रचलनमा आइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अहिले सबैभन्दा सानो १ देखि सबैभन्दा ठूलो एकहजार दरका नोट प्रचलनमा छन् । नेपालमा आधिकारिक रूपमा गर्भनरको हस्ताक्षरसहितको नोट भने २०१६ सालदेखि मात्रै चलन–चल्तीमा ल्याइएको हो । पछिल्लो समय दशैंका बेला जारी गरिने नयाँ नोट छिट्टै पुरानो हुन्छन् ।

के कारणले छिट्टै खस्किन्छ नोटको गुणस्तर ?

  • – टीका लगाएर रंग लतपतिएको हातले नै दक्षिणा दिँदा
  • – मन्दिरमा चढाउँदा अबिर, केशरीलगायत रंग लाग्दा तथा पानी र दूधबाट भिज्दा
  • – पशु–पंक्षीको बलि दिँदा रगत लतपतिदा, धुप र अगरबत्तिले जल्दा
  • – कच्याककुचुक पारेर खल्तीमा राख्ने, थैली र पर्समा खाँद्ने बानी
  • – जथाभावी कोर्ने–लेख्ने र बैंक तथा वित्तीय संस्थाले स्टिच लगाउने प्रबृत्ति

अन्तर्राष्ट्रिय मापदण्डअनुसार सामान्यतया कागजी नोटको आयु ४ वर्षको हुन्छ । तर, नेपालमा दसैंका बेला बजारमा पठाइएका नयाँ नोट एक बर्षमै पुरानो हुन्छ । राष्ट्रको सम्पक्ति र प्रतिष्ठा हरेकाले नोटको प्रयोग जतनसाथ गर्नुपर्नेमा राष्ट्र बैंक जोड दिन्छ ।

नयाँ नोट छाप्न प्रतिपिस डेढ रुपैयाँदेखि एक रुपैयाँ ९८ पैसासम्म पर्छ । उक्त लागत नयाँ नोट छाप्न अपनाइएको अन्तर्राष्ट्रियस्तरको ठेक्का प्रणालीपछिको हो । त्यसअघि प्रतिपिस ६ रुपैयाँसम्म लाग्थ्यो । हरेक वर्ष नयाँ नोट छाप्न राष्ट्र बैंकले खर्चिदै आएको ४० करोड व्ययभार घटाउन पनि नोटको प्रयोगमा सचेतना आवश्यक छ । जसलाई कानूनले नै निर्दिष्ट गरेको छ ।

राष्ट्र बैंकले दसैं र तिहारमा नयाँ नोट पठाउनुुको उद्देश्य बजारबाट झुुत्रा र पुराना नोट खिच्नुु पनि हो । तर, दसैं र तिहारमै बजारमा पठाइने नोटको झुुत्रा र पुराना हुने दर बढी छ । त्यसैले, बैंक तथा बित्तीय संस्थामै हुने बद्मासीको निगरानीका साथ प्रत्येक वर्ष नयाँ नोट छाप्दा राज्यमाथि पर्ने व्ययभार र केरमेट गरे वा च्याते हुने कानूनी कारबाहीबारे सचेतना बढाउन आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV