२३ आश्विन २०७५, मंगलवार

बर्दिवास। महोत्तरीमा पखालाबाट मृत्यु भएका दुई जना परिवारलाई सरकारले राहतस्वरुप रु एक/एक लाख दिने भएको छ ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दुई साताभन्दा बढी पखालाको प्रकोप चलेको जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्हीका मुस्लिम बस्तीका दुई जना मृतकका परिवारलाई रु एक/एक लाख राहत उपलब्ध गराइने घोषणा गरिएको हो ।

सो बस्तीमा एक धार्मिक कार्यक्रमका लागि आज पुगेका उनले दुवै मृतकका परिवारलाई भेटेर राहत दिइने बताएका छन् । पखालाको प्रकोपबाट चार वर्षीया बालिका खुश्वु खातुन र ४० वर्षीया वृद्धा अइसा खातुनको मृत्यु भएको थियो । दूषित पानीकै कारण पूरै बस्तीमा पखालाको प्रकोप फैलिएकाले अब स्वच्छ खानेपानीको प्रबन्ध गरिनुपर्नेमा जोड दिदैं उनले स्वच्छ खानेपानीको प्रबन्धका लागि तुरुन्त व्यवस्था गर्न जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रलाई निर्देशन दिए ।

पहिले खेतमा मारिएका भुरा माछा खाएर प्रकोप फैलिएको भनिए पनि पछि सो बस्तीमा खान प्रयोग गरिने चापाकलको पानीको नमूना राष्ट्रिय स्वास्थ्य प्रयोगशाला टेकुमा जाँच गरिँदा ‘इकोलाई र क्लोरीफर्म’ नामक दिसाका किटाणु फेला परेपछि प्रकोपका कारण खानेपानी रहेको पुष्टि भएको थियो । जम्मा ३०० घरधुरी रहेका सो बस्तीका २५० भन्दाबढी पखालाले प्रभावित भएका थिए ।

LIVE TV