२३ आश्विन २०७५, मंगलवार

लमजुङ । सरकारले अबको ३ बर्षमा ३ हजार मेगावाट विद्युत उत्पादन लक्ष्यलाई निजि क्षेत्रले समेत साथ दिने भएको छ । निजि क्षेत्रले लमजुङस्थित माथिल्लो दोर्दी–ए को निर्माणलाई तिब्रता दिएको छ । आयोजनाले आगामी ६ महिनाभित्रै २५ मेगावाट विद्युत उत्पादन गर्ने योजना बनाएको छ ।

लमजुङको दोर्दी गाउँपालिकामा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी–ए जलविद्युत आयोजनामा सुरुङ निर्माणको काम सकिएको छ । भूकम्प र नाकाबन्दीका कारण केही ढिला भएको यो आयोजनाले कूल २ हजार ६ सय २३ मिटर लामो भुमिगत सुरुङ साढे ३ बर्षमा सम्पन्न गरेको छ । ८० प्रतिशत निर्माण सकिएको आयोजनामा बाँध र विद्युत गृहको ६०, पेनस्टक पाइपको ९० प्रतिशत काम सकिएको छ । आगामी ६ महिनाभित्रै विद्युत उत्पादन गर्ने प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी हाइड्रोपावरको योजना छ ।

कूल ४ अर्ब कुल लागत रहेको आयोजनामा २ हजार ८ सय ३४ मिटरको भागमा पेनस्टक पाइप बिच्छ्याइएको छ भने बाँकी रहेको स्थानमा सुरुङ निर्माण गरिएको हो । सरकारले आगामी ३ बर्षमा ३ हजार, ५ बर्षमा ५ हजार र १० बर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य लिइरहेका बेला आयोजनाले सरकारी योजनामा सहयोग पु¥याउने भएको हो ।

४ बर्ष अघि निर्माण शुरु भएको माथिल्लो दोर्दी–ए भूकम्प र नाकाबन्दीका कारण २ बर्षपछि धकेलियो । समयअनुसारको प्रगति हासिल गर्न नसकेपनि आयोजनाले ६ महिनाभित्रै विद्युत उत्पादन गर्ने लक्ष्य बोकेको छ । आयोजनामा ७० प्रतिशत कर्जा र ३० प्रतिशत प्रवद्र्धकहरुको इक्वीटी लगानी रहेको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ बैकले २ अर्ब ७७ करोड ४० लाख लगानी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV