२३ आश्विन २०७५, मंगलवार
  • श्यामशितल परियार,

२३ असोज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सरकार गिराउन विभिन्न देशी÷विदेशी शक्तिकेन्द्रहरु लागिपरेको बताउनुभएको छ ।

नेपाल निजामति कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति लमजुङको संयुक्त आयोजनामा दशैं तिहारको अवसरमा बेसीशहरमा आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उहाँले मुलुकमा अस्थिरता, अराजकता पैदा गराई सरकार गिराउने दिशामा कतिपय देशी-विदेशी शक्तिकेन्द्रहरु लागिरहेका जिकिर गर्नुभयो । उनीहरुले दुई तिहाई बहुमतको वामपन्थी सरकारलाई नचाहेको गुरुङको दावी थियो ।

अर्को प्रसंगमा, प्रतिनिधिसभाका सदस्य समेत रहनुभएका गुरुङले अर्थतन्त्रमा मुलुक आत्मनिर्भर नभएकै कारण विभिन्न जटिलता पैदा भएको बताउनुभयो ।

कृषि प्रधान मुलुक भनिएतापनि कृषिजन्य उत्पादन, खाद्यान्नमा आत्मनिर्भर हुन नसकिएको उहाँको भनाई छ । कृषि उत्पादनमा जोड दिनुपर्छ भन्ने मान्यतालाई केन्द्रविन्दुमा राखेर सरकार अघि बढिरहेको समेत उहाँको कथन छ । कार्यक्रमका सहभागीहरुले सबै कर्मचारीले देश र जनताको हितलाई ध्यानमा राखी जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV