२३ आश्विन २०७५, मंगलवार
  • केशव पौडेल

काभ्रे । चाडपर्व नजिकिएसँगै उपभोक्ता स्वास्थ्यमा तदारुकता देखाउने सरकारी परिपाटी पुरानै हो । तरकारी, फलफूल, माछामासु लगायतमा गरिने मौसमी अनुगमनमा धेरै विकृति भेटिन्छन् । तर, त्यसलाई निराकरण गर्नेतर्फ भने कुनै कदम चालेको पाइँदैन । काभ्रेको बनेपामा पनि जिल्ला प्रशासन कार्यालय र बनेपा नगरपालिकाले मंगलबार बिहानै पशु बधशालाको अनुगमन गरेको छ ।

व्यवसायीले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरिरहेको पनि भेटिएको छ । मंगलवार बिहानै काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलीले काभ्रेको बनेपामा रहेको व्यक्तिगत बधशालाहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांश बधशालाहरुले सफाईमा ध्यान नदिएको, दर्ता गरेर सञ्चालन नगरेको र राँगाको सट्टामा भैसी काटेर बेचबिखन गरेको पाइएको छ ।

दशैंमा अत्याधिक मात्रामा राँगाको मासु खपत हुने गर्नाले राँगा नाममा भैसी पनि काटेर बेच्ने चलन बनेपामा व्यापक छ । अनुगमन टोलीले एक पटकका लागि सुध्रने मौका भन्दै व्यवसायीलाई चेतावनी दिएर छाडेपछि उपभोक्ताहरु भने आक्रोशित बनेका छन् । अनुगमनमा रहेका जिल्ला भेटेरीनरी अस्पताल काभ्रेका प्रमुख डा.नारायण श्रेष्ठले पनि मुख्य गरी सरसफाइको कमी देखिएको बताए ।

व्यवसायीहरु भने बनेपामा व्यवस्थित बधशाला नभए पनि आफूहरुले सकेसम्म सरसफाइमा ध्यान दिएको बताउँछन् । नगरपालिकाले तत्कालै वधशाला निर्माणमा ध्यान दिन आवश्यक रहेको उनीहरुको माग छ ।

बनेपा नगरपालिकाले अरु सबै बस्तीहरुमा फोहोर उठाउने ट्याक्टर लगे पनि आफ्नो टोलमा भने हेयको दृष्टिकोणले हेरेर ट्याक्टर समेत नपठाउने गरेको बनेपाका शाही परिवारको आरोप छ । बनेपामा मासुको व्यवसायमा शाही परिवारकै बाहुल्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV