२३ आश्विन २०७५, मंगलवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको नेता र सचेतकको नाममा प्रदेश २ को सभाबाट दोहोरो सुविधा लिँदै आएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि नेकपा भएको झन्डै ९ महिना बित्दा पनि प्रदेश सभालाई जानकारी गराइएको छैन ।

पार्टी एकीकरण गरेर नेकपाले प्रदेश इन्चार्जदेखि सचिवसम्म तोकिसकेको छ । तर, प्रदेश सभालाई भने जानकारी गराएको छैन । पार्टी एकताबारे प्रदेश सभामा औपचारिक जानकारी नआएको सभामुख सरोजकुमार यादवले बताएकाे खबर अाजकाे नयाँ पत्रिकामा छ ।

बुधबार नै जानकारी गराउँछौँ : नेता मण्डल
प्रदेश कमिटी गठन नभएकाले पार्टी एकीकरणबारे प्रदेश सभालाई जानकारी गराउन ढिलाइ भएको नेकपाका प्रदेश इन्चार्ज तथा प्रदेश संसदीय दलका नेता सत्यनारायण मण्डलले बताए । ‘बुधबार नै पार्टी एकीकरण र संसदीय दलका नेता र सचेतकको विषयमा चिठी पठाएर सभामुखलाई जानकारी गराउँछौँ,’ उनले भने ।

पार्टी प्रदेश कमिटीको विधान नबनेसम्म संसदीय दलको नेतामा सत्यनारायण मण्डल, उपनेतामा रामचन्द्र मण्डल, प्रमुख सचेतकका सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा दिलीप साहलाई चयन गरिएको छ । पार्टीको प्रदेश कमिटीको विधान बनाउन ७ सदस्यीय समितिसमेत गठन गरिएको मण्डलले बताए ।

LIVE TV