२२ आश्विन २०७५, सोमबार

‘शक्तिशाली’ संगम स्वीट !

अतिगुणस्तरहीन मिठाई बेचेको फेला पारेपछि मंगलबार बानेश्वरस्थित संगम स्वीटमा शिलबन्दी भयो । जिल्ला प्रशासन कार्यालय काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र केही उपभोक्ताकर्मीको अनुगमन टोलीले जनस्वास्थ्यमा गम्भीर असर गर्ने गुणस्तरहीन मिठाई फेला पारेपछि संगम स्वीटमा शिल लगाएको हो ।

अनुगमनका क्रममा सन् २०११ मा म्याद सकिएको ‘कोकोनट पाउडर’ प्रयोग गरी बर्फीलगायत मिठाई बनाएको भेटिएको थियो । त्यस्तै अखाद्य ‘हाइड्रो १’ केमिकल प्रयोग गरेर दूध तथा रसबरी सेतो बनाउने गरेको पाइएको थियो ।

स्वस्थ्यमा असर गर्ने मिठाई बेचेको फेला परेपछि अर्को सूचना जारी नभएसम्मका लागि संगम स्वीटमा शिल लगाइएको थियो । शिलबन्दी भएको पसलको कडा निगरानी राख्ने र कानुनबमोजिम कारबाही हुने बताइएको थियो ।

शिलबन्दी भएको तीन दिनसम्म संगम स्वीट बन्द भयो । यसबीचमा अर्को कुनै सूचना जारी भएको पनि छैन । तर, बन्द भएको चौथो दिन संगम स्वीट्सका मालिकले आफूखुसी पसल खोले ।

शनिबारदेखि संगम स्वीट पूर्ववत् ढंगमा सञ्चालनमा आयो । तर, खाद्यय प्रविवि तथा गुण नियन्त्रण विभाष्का महानिर्देशक सञ्जिवकुमार कर्णले संगम स्वीट्स नखुलेको एकोहोरो दावी गरे ।

जनस्वास्थ्यमा घात गरेको भन्दै शील गरिएको संगम स्वीट्स कुन शक्तिको आडमा खोलियो ? मीठाई पसल सञ्चालकको एक्लो हिम्मतमा मात्रै यो संभव थिएन/छैन । अझ खुलेको तथ्यलाई सरकारी अधिकारी जबरजस्त लुकाउने प्रयासमा थिए ।

तर, सत्य नयाँ बानेश्वरमा छरपष्ट भइसकेको थियो । बानेश्वरबाट फर्केर हामी फेरि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पुग्यौं । फेरि पनि विभागका अधिकारीले संगम स्वीट नखुलेको दावी छाडेनन् । जब हामीले पसल खुलेको भिडियो देखायौं, तब विभागका अधिकारी दंग परे ।

त्यसपछि सोमबार पनि हामी संगम स्वीट्समा पुग्यौं । त्यहाँ पुग्दा पसलको सटर लगाइएको थियो । तर शिल्ड भने तोडिएको थियो ।

त्यसपछि, सरकारी अधिकारीले लगाएको शिल्ड बिनाजानकारी आफूखुसी खोल्नेमाथि के चाहिँ के कारबाही हुन्छ भनेर विभागका अधिकारीलाई सोधेका सोध्यौं ।

सरकारले गर्ने बजार अनुगमन उपभोक्तको आँखामा छारो हाल्नका लागि मात्रै हो भन्ने एउटा तथ्य नयाँ बानेश्वरस्थित संगम स्वीट्सको प्रकरणले प्रष्ट्याएको छ । र, यसले सरकारी बजार अनुगमनकर्तामाथि पनि प्रश्न उब्जिएको छ ।

 बजार अनुगमन ‘नाटक मात्रै !’

नेपालीहरुको ठूला चाडपर्वहरु ः तीज, दसैं, तिहार, छठ नजिकिँदै गर्दा बजार अनुगमन गरेजस्तो गरिन्छ । पछिल्ला दिनहरुमा खाद्य स्टोर, होटल तथा लजदेखि स्वस्थ्य संस्था, मेडिकल, अस्पतालका क्यान्टिन, सार्वजनिक यातायात, मासु पसल र दुग्ध उद्योगमा समेत अनुगमन भएको छ । र, बजार अनुगमनका क्रममा भेटिएका बेइमानी सूची निकै लामो छ ।

अहिले बजारमा मनलाग्दी बढेको कुरा तथ्यले नै पुष्टि गर्दछ । तरकारी, फलफूल, खाद्यान्नदेखि लत्ताकपाडको बजार मनलाग्दी भइरहँदा पनि प्रभावकारी अनुगमन भएको छैन । अनुगमन भए पनि दोषि भेटिएकामाथि कारबाही भएको उदाहरण कम छ । बजारमा विचौलियाको विगविगी भएका कारण मूल्य मनलाग्दी बढेको व्यवसायीहरु नै स्वीकार्छन् ।

सरकारले चाडपर्वको मुखमा बजार अनुगमन तीव्र बनाए पनि खासै कारबाही भएको देखिँदैन । माथिको दवाव, पर्याप्त प्रमाणको अभाव, भित्री रूपमा मिलाउने प्रपञ्चका कारण बजारमा बेइमानी गर्नेलाई कारबाही हुन नसकेको आरोप अनुगमनकारीमाथि लाग्दै आएको छ ।

साथै कानुनमा भएको फितलोपन र कमजोरीका कारण पनि बजारमा बेइमानी गर्नेमाथि कारबाही गर्न जटिल भएको हो । कानुनअनुसार अनुगमनका क्रममा स्टोरमा भेटिएको सामान कुहिएको भेटिए पनि मुद्दा चलाउन मिल्दैन । बजारमा बेइमानी भएको तथ्य फेला परे पनि कारबाही गर्न कोही न कोही उपभोक्ताले उजुरी गर्नै पर्छ । जुन अभ्यास नेपालमा छैन ।

अनुगमनका क्रममा सिल गरेका व्यवसायिक संस्थाहरु प्नि सुधार गरेको वताएपछि सञ्चालन गर्न पाउँने कानुनी प्रावधान छ । यसरी बजार अनुगमनको विषयमा अनेक बहस भइरहँदा बजारमा बेइमानी गर्नेलाई जुन रुपमा कारबाही हुनुपर्ने हो त्यो हुन सकेको छैन । त्यसैले बजार अनुगमन कर्मकाडी र नाम मात्रको भएको आरोप लागेको छ । तर सरकार भने बजार अनुगमनलाई प्रभावकारी बनाएको दावी गर्छ ।

बजार अनुगमनको शैलीलाई सुधार गरिनु पर्छ । परम्परागत रुपले अनुगमन गर्दा कालावजारी गर्नेहरुले छुट पाइरहेका छन् । तर, उपभोक्ता हितको क्षेत्रमा काम गरिरहेकाहरुले पनि बजार अनुगमनलाई प्रभावकारी बनाउन प्रयास गरिरहेको बताउँछन् ।

बजार अनुगमनलाई भक्ता पचाउने र बजेट सिध्याउने मेसो मिलाउने भन्दा माथि उठेर प्रभावकारी बनाउनु यतिबेलाको खाँचो हो । बजारमा देखिएको अराजक प्रवृत्तिलाई हटाउन बजार अनुगमनसँगै कारबाही प्रक्रिया पनि अघि बढाउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV