२२ आश्विन २०७५, सोमबार

काठमाडौं । अनुगमनका क्रममा ‘कैफियत’ भेटिएपछि मंगलबार शिलबन्द गरिएको काठमाडौं नयाँ बानेश्वरको संगम स्वीट्स चार दिनपछि सरकारी निकायको निर्देशन अवज्ञा गर्दै खोलियो । आइतबार हामी पुग्दा निर्धक्क कारोबार गरिरहेको स्वीट्स आज सोमबार भने बन्द थियो ।

सरकारी अनुगमन संयन्त्रभन्दा एउटा मिठाई पसले ‘शक्तिशाली’ भएको उदाहरण हो, संगम स्वीटको बदमासी र अनुगमनकर्ताको निरीहता । सञ्चालक शिल गरिएको पसल हाकाहाकी खोल्छ । सरकारी अधिकारी खोलिएको छैन होला भन्छन् । सबुद देखाउँदा अक्क न बक्क पर्छन् । यहाँ बद्मासी दुबैतर्फबाट भएन होला कसरी भन्ने ?

आइतबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अनुमति विना नै पसल संचालनमा गरिएकाबारे हामीले न्यूज प्रशारण गरेपछि सोमबार भने पसल बन्द थियो ।

नयाँ बानेश्वरमा झापाका संगम शर्माले सञ्चालन गरेको ‘संगम स्वीट्स एण्ड स्न्याक्स प्रालि’ले मिठाइमा हाइड्रो–१ नामको रसायन र सेतो कपडामा प्रयोग गरिने नीरको पाउडर मिसाउने गरेको प्रमाणित भयो । जनस्वास्थ्यमाथि घातक प्रहार गर्ने शर्मा झापातिरको ‘साइनो’ लगाएर उम्कने प्रयासमा रहँदा अनुगमनकर्ताको टाउको थप दुखेको छ । शिल गरिएको पसल कसको आडभरोसामा खुलाइयो भन्ने बताउन नचाहने विभाग संचालक शर्मालाई कानूनअनुसार कारबाही हुने दावी गर्न भने छोड्दैन ।

खाद्यान्नमा अखाद्य वस्तु मिसावट गरेको प्रमाण फेला परेमा कानूनअनुसार कम्तिमा ५ वर्ष कैद वा ५० हजार रूपैयाँ जरिवाना वा दुवै सजाय हुन्छ । तर, सरकारी नियमक निकायको निरिहता र शर्माको चलखेलले उनी कानूनको फन्दामा पर्लान् भन्नेमा शंका उब्जिएको छ ।

एउटा मिठाई विक्रेता ऐन, कानून, नियम लत्याएर हाकाहाकी शिल लगाइएको पसल खोल्छ । र, सरकारी निकायलाई देखिस् भनेझैं गरी कारोबार गर्छ । कारबाही गर्नुपर्ने निकाय कहिले कानुन त कहिले व्यवहारलाई देखाएर उम्कन खोज्छ भने आम उपभोक्ताको स्वास्थ्यमा भइरहेको खेलवाड कहिले रोकिएला ?

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV