२२ आश्विन २०७५, सोमबार

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लगाएको छ । तर, आइतबार राति भएको निर्णयमा रामचन्द्र पौडेल पक्षीय केही नेताले ‘असहमति’ जनाएका छन् । नेविसंघमा प्रमुख विवादका रूपमा देखिएको सो व्यवस्था टुंगिएसँगै संघको १२ औं महाधिवेशन गर्ने बाटो त खुलेको छ । तर, एक पक्षको असहमतिका कारण महाधिवेशन हुने/नहुनेमा अन्योल देखिएको छ ।

नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लगाउने निर्णयको विपक्षमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, प्रदीप पौडेललगायतका नेता छन् । संघले सर्वसममतिबाट स्वीकृतिका लागि प्रस्तुत गरेको ‘नेविसंघको विधान २०२७ सातौं संशोधन २०७५’ लाई पन्छाएर विधि, प्रक्रिया र पद्दतिलाई पूर्णरुपमा पन्छाएर नेविसंघको संस्थागत विकास र लोकतान्त्रिक प्रक्रियामा गम्भीर आघात पारेको उनीहरुको ठहर छ । तर, संस्थापन पक्ष त्यसको खण्डन गर्छ ।

११ औं महाधिवेशनबाट स्वीकृत नेविसंघको विधानमा १२ औं महाधिवेशनबाट ३२ वर्षे उमेर हद लागू गर्ने उल्लेख थियो । तर, महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा ३२ वर्षे उमेर हद हटाउन मातृ पार्टीलाई आग्रह ग¥यो । संस्थापन पक्षको कायम राख्नुपर्ने र इतर पक्षको उमेर हद हटाउनुपर्छ भन्ने अडान थियो । वर्तमान कार्यसमितिको थपिएको तीन महिने म्याद मंसिर २ मा सकिनु अघि नेविसंघले कात्तिक १६, १७ र १८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, उमेर हदसम्बन्धि विवादमा पार्टी नेता नै बाँडिएपछि नेविसंघका नेता÷कार्यकर्ता पनि स्वत् बाँडिने भए नै ।

३२ वर्षे उमेर हद नेविसंघको दीर्घकालीन हितका लागि अनिवार्य भइसकेकोमा कांग्रेसका सबै नेता सैद्धान्तिक रुपमा सहमत छन् । तर, संस्थापन पक्षले १२ औं महाधिवेशनबाट नेविसंघको नेतृत्व इतर समूहमा नजाओस् भन्ने चाहानु र इतरले आफ्नै पकट रहोस् भन्ने सोच्नुले यो विवाद देखिएको हो । उमेर हद नलाग्दा नेविसंघको अध्यक्षका लागि संस्थापन समूहका सरोज थापा र इतर पक्षका कुन्दनराज काफ्ले दोवेदार थिए ।

तर, उमेर हदले दुबै अयोग्य भएपछि संस्थापनका प्रेमराज जोशी अध्यक्षको लाइनमा आइपुग्छन् । आफ्नो पक्षलाई बाटो खुला गर्ने र अर्को पक्षलाई रोक्ने प्रबृत्तिका कारण मंसिर २ गतेसम्म नेविसंघको १२ औं महाधिवेशन गर्नुपर्ने बाध्यता फेरि धकेलिने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV