२२ आश्विन २०७५, सोमबार
  • सरद राई,

काठमाडौं, २२ असोज । अझैंपनि नेपालमा सडक दुर्घटनामा कमी आउन सकेको छैन । गत असार तीन गते अरनिको रुटको जिरो किलोमा निशान मिनी ट्रकलाई उल्टो दिशाबाट आएको आर फिफ्टीन मोटरसाइकलले ठक्कर दियो ।

यसरी मिनी ट्रकसँग मोटरसाईल जुध्दा मोटरसाइकलमा सवार ललितपुर नरेफाँटका एञ्जलमान ताल्चा भोटेल र मिलन कार्की गम्भीर घाइते भए । मोटरसाइकल चालक भोटेलको अवस्था गम्भीर भएपनि कार्कीको अवस्था भने सामान्य नै थियो ।

मोटरसाइकलले ठक्कर दिएको मिनी ट्रक सिन्धुपाल्चोकका लेखबहादुर कार्कीको हो । अहिले उनको ड्राइभर भने सम्पर्कविहीन छन् । ट्रकका धनी कार्कीले ती दुर्घटनामा परेका दुवै जनाको उपचार गर्न बाध्य भएका छन् । उपचारको क्रममा अहिलेसम्ममा २८ लाख भन्दा बढी खर्च भइसक्दा पनि भोटेलको स्वास्थ्यमा अझैं पनि सुधार आउन सकेको छैन ।

यसरी आफूसँग भएभरको सारा पैसा सकेर पनि आफ्नो साथीभाईसँग ऋण गरेर उपचार गर्दा पनि भोटेलको अवस्था जस्ताको त्यस्तै भएपछि बाँकी उपचारको लागि आफुसँग पैसा नभएको गुनासो लिएर लेखबहादुर कार्की हाम्रो कार्यलयमा आइपुगेका छन् ।

उनले भने, ‘मेरो गाडीमा उनीहरुले उल्टो दिशाबाट आएर मोटरसाइकल ठोक्काए । मेरो गाडीको कुनै गल्तीनै थिएन, तर पनि मैले मानवताको नाताले आफुले सक्ने उपचार गर्ने प्रण गरे । तर अहिलेसम्ममा उनीहरुको उपचार गर्ने क्रममा २८ लाख रुपैयाँ भन्दा बढी भइसक्यो । म सँग भएभरको सबै पैसा भोटेल र उनका साथी कार्कीकै उपचारमा खर्च गरिसके । मैले ऋण गरेर पनि धेरै खर्च गरिसकेको छु । तर अब भोटेलको उपचार गर्नका लागि म सँग कुनै आर्थिक हैसियत छैन ।’

कार्कीले आफु १० वर्षसम्म दुवईमा काम गरेर ल्याएको कमाई र केही ऋण गरेर सो गाडी किनेका थिए । काठमाडौंबाट चौतारा जाँदै गर्दा काभ्रेको जिरोकिलोमा यो दुर्घटना भएको थियो ।

यसरी दुर्घटना भएपछि घाइते भोटेल र उनका साथी कार्कीलाई पहिले धुलिखेलको अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि भोटेललाई काठमाडौंको नर्भिक अस्पतालमा ल्याईयो भने उनका साथी कार्कीलाई बि.एण्ड.बि. अस्पतालमा ल्याइएको थियो । अहिले भोटेलका साथी कार्कीको अवस्था भने सामान्य छ, भने अस्पतालबाट डिस्चार्ज समेत भइकसेका छन् ।

तर यता भोटेल भने अझैं पनि नर्भिक अस्पतालमै छन् । एक महिना अघि उनलाई नर्भिकबाट डिस्चार्ज गरेर मासिक एक लाख रुपैया तिरेर थेरापी गराइरहँदा पछिल्लो समय फोक्सो लगायतको अन्य समस्या देखा परेपछि पुनः नर्भिक अस्पतालमै चर्को शुल्क तिरेर उपचार गरिरहेका छन् । भोटेललाई नर्भिकमा पुनः भर्ना गरिएको एक साता भन्दा बढी भइसकेको छ ।

यता लेख बहादुर कार्की भने आफुसँग उपचार गराउनका लागि आर्थिक अभावका कारण छट्पटाईहरेका छन् । कार्कीले भने, ‘अझैंपनि भोटेललाई अस्पतालमा कति दिनसम्म राख्नु पर्ने हो अत्तोपत्तो छैन । म सँग भएभरको सबै सम्पत्ति खर्च गरिसके । मेरा साथीहरुबाट पनि ऋण लिएर भोटेलको उपचारमा खर्च गरिसकेको छु । अहिले ती साथीहरुले मैले लिएको ऋण माग्न थालेका छन् ।’

उनले थपे, ‘सुरुमा भोटेलमा बुबा आफुले पनि छोरोको उपचार लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए, तर अहिलेसम्म सबै म आफैले व्यहोरिहेको छु । उनीहरुले खाली पैसा लिएर आउनु मात्रै भनिरहेका छन् । म सँग भएभरको पैसा सबै अस्पतालमा बुझाईसके । अब म सँग उपचार गराउने पैसा छैन । साथीहरुले मैले लिएको ऋण मागिरहेका छन् । कहाँबाट दिनु मैले ?’

हामीसँग गुनासो पोख्दै भोटेलका परिवारले पनि उपचार गर्न आग्रह गरेका छन् । साथै अन्य सहयोगी मनहरुलाई सहयोग गरिदिनका लागि अपिल पनि गरेका छन् । सहयोगको लागि सम्पर्क नम्बर ९८१८७३७०४३ (लेखबहादुर कार्की)

प्रतिक्रिया दिनुहोस्

LIVE TV