
एजेन्सी । झण्डै दुई साता अघिदेखि हराएका भनिएका इन्टरपोलका प्रमुख मेङ होङवेई चीनमा रहेको पत्ता लागेको छ । चीनले होङवेइ आफूहरूको कब्जामा रहेको पुष्टि गरेको छ ।
प्रमुख होङवेई फ्रान्सस्थित इन्टरपोल मुख्यालयबाट बेपत्ता भएको समाचार सार्वजनिक भएको थियो । चीनले आफ्नो मुलुकका केही कानुनको उल्लंघन गरेको आरोपमा सोधपुछका लागि केही दिन रोकिएको पनि प्रष्ट पारेको छ ।
होङवेई चिनियाँ नागरिक हुन् । गत सेप्टेम्बर २५ मा फ्रान्सको लियोनस्थित मुख्यालयबाट बाहिरिएका होङवेइ त्यसयता बेपत्ता थिए । उनकी पत्नी ग्रेस मेङले श्रीमानको ज्यान खतरामा हुनसक्ने आशंका व्यक्त गरेकी थिइन् ।
चीनले होङवेइमाथि लगाएको आरोप र उनीमाथि हुनसक्ने कारबाहीबारे अहिलेसम्म केही बताएको छैन । इन्टरपोल संसारभरका प्रहरी संस्थाको छाता संगठन हो जसको नेतृत्व होङवेईको हातमा छ । उनी इन्टरपोलका प्रमुख हुने पहिलो चिनियाँ नागरिक हुन् ।