२१ आश्विन २०७५, आईतवार

काठमाडौँ । लोकजीवनका हरपाटोलाई लयबद्ध मौलिक संगीतमा प्रस्तुत गरिने ठाडोभाखाको आफ्नै बेग्लै महत्व र पहिचान छ । दूरागुरुङ जातिको साँस्कृतिक पहिचानसँग समेत जोडिएको ठाडो भाखाको उन्नयनमा आफ्नो जीवन समर्पित गरेका भेँडिखर्के साइँला अर्थात् दीर्घराज अधिकारीको निधन भएको एक वर्ष पुगेको छ ।

जनस्तरबाट लोकभाखा शिरोमणिको सम्मान पाएका भेडिखर्केको सम्मानार्थ जनस्तरबाटै विभिन्न गतिविधि पनि भइरहेको छ । र, स्मृति दिवसमा सबैले उनको प्रशंसा गरेका छन् । भेँडिखर्के साइँलाको निधनसँगै मौलिक ठाडोभाखा पनि लोपोन्मुख भएको छ । दिनरात नभनी ठाडोभाखाको प्रवद्र्धनमा लागेका साइँलाको स्थानीय स्तरमा सम्मान त गरिएको छ । तर, ठाडोभाखा संरक्षणमा खासै उल्लेख्य पहल भने गरिएको छैन । सुन्दा सामान्य तर गाउन जटिल ठाडो भाखाको जर्गेनार्थ राज्यस्तरबाट पनि कुनै पहल नहुनुलाई गीत–संगीतप्रेमीले दुखद् मानेका छन् ।

दीर्घराज अधिकारी संगीत आकाशमा भेँडिखर्के साइँलाको नामबाट परिचित भए । अतिविपन्न परिवारका कारण औपचारिक अध्ययन गर्न नसकेका भेँडिखर्केले बालकालदेखि नै ठाडोभाखा गाउँन थाले । खर्कमा गोठालो जाँदादेखि जीवनको अन्तिम अवस्थासम्म ठाडोभाखाकै प्रवद्र्धनमा सक्रिय रहे । तर, उनी विरामी भएर थलिँदा उपचार खर्चकै अभाव भयो । र, पर्याप्त उपचार सुविधा नपाएकै कारण संसार छाडे । अहिले केही मौलिक गीत–संगीत प्रेमीले उनको स्मरण गरि रहेका छन् । तर, ठाडोभाखाको संरक्षणमा कुनै उल्लेख्य पहल भने गरिएको छैन ।

माया, प्रेमसँगै दैनिक जीवनका हर संवेदनासँग ठाडोभाखाको सम्बन्ध छ । मौलिक टुक्का मिश्रित हुने भएकाले ठाडोभाखा सुन्नुमा बेग्लै आनन्द पनि छ । तर, अहिले भेँडिखर्केको निधनसँगै ठाडोभाखा लोप हुने खतरा बढेको छ । समृद्धि भनेको भौतिक संरचनाको विकास मात्रै होइन, मौलिक कला, साहित्य, भाषा र गीत–संगीतको जगेर्ना पनि हो । भौतिक विकासले मात्रै विश्वमा हाम्रो बेग्लै पहिचान स्थापित हुन सम्भव छैन । यसर्थ, मौलिक पहिचानको जगेनार्थ ठाडोभाखा संरक्षण पनि जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV