२१ आश्विन २०७५, आईतवार

काठमाडौं । सरकारले गर्ने बजार अनुगमन उपभोक्तको आँखामा छारो हाल्नका लागि मात्रै हो भन्ने एउटा तथ्य नयाँ बानेश्वरस्थित संगम स्वीट्सको प्रकरणले प्रष्ट्याएको छ । अखाद्य मिठाई भेटिएको भन्दै मंगलबार शील गरिएको सो मिठाई पसल चार दिन नबित्दै खुलेको छ ।

मंगलबार सरकारी टोलीले अनुगमन गर्दा संगम स्वीट्समा कैफियत भेटियो । र, आवश्यक कारबाहीका लागि भन्दै पसलमै शील गरियो ।

यसरी शील गरिएको संगम स्वीट्सले शनिवारबाटै एकाएक कारोबार सुरु गरेको थियो । कारबाही गर्ने भन्दै शील गरिएको पसलले किन र कसरी चार दिन नबित्दै उन्मुक्ति पायो ? यही प्रश्न लिएर आइतबार दिउँसो हामी सुरुमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पुग्यौं । तर, विभागका महानिर्देशकले संगम स्वीट्स खुल्नै नखुलेको दावी गरे ।

महानिर्देशक कर्णको दावी एकै छिन पनि टिक्दैन भन्ने निश्चित थियो । महानिर्देशक कर्णलाई भेटेर हामी सिंघै संगम स्वीट्समा पुग्यौ । उसले निर्धक्क कारोबार गरिरहेको थियो ।

जनस्वास्थ्यमा घात गरेको भन्दै शील गरिएको संगम स्वीट्स कुन शक्तिको आडमा खोलियो ? मीठाई पसल सञ्चालकको एक्लो हिम्मतमा मात्रै यो संभव थिएन÷छैन । अझ खुलेको तथ्यलाई सरकारी अधिकारी जबरजस्त लुकाउने प्रयासमा थिए । तर, सत्य नयाँ बानेश्वरमा छरपष्ट भइसकेको थियो । बानेश्वरबाट फर्केर हामी फेरि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पुग्यौं । फेरि पनि विभागका अधिकारीले खुल्दै नखुलेको दावी गरे । खुली नै सकेको तथ्य देखाएपछि विभागका अधिकारी अक्क न बक्क परे ।

मंगलबार अनुगमनका क्रममा सन् २०११ मै म्याद सकिएको ‘कोकोनट पाउडर’ प्रयोग गरी बर्फी लगायत मिठाई बनाएको, ‘हाइड्रो–वान’ केमिकल प्रयोग गरी दूध तथा रसबरी सेतो बनाइएको भन्दै मिठाई बनाउने कारखाना र बिक्री स्थल दुवैमा शीलबन्दी गरिएको थियो । तर, शील गरिएको कारखाना र विक्रि केन्द्र कसको आड–भरोसामा खुलाइयो ? यसले सरकारी अनुगमन ‘नौटंकी’का लागि मात्र हो भन्ने सर्वसाधारणको आशंकामा बल पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV