२१ आश्विन २०७५, आईतवार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्तरिक विवादमा फसेका छन् । पूर्वएमाले र माओवादीबीच एकता भएर बनेको नेकपा पार्टी एकताको चरण पूरा नहुँदै विवादमा फस्दा कांग्रेसमा सभापतिलाई शक्तिशाली बनाउने कि अहिलेकै अधिकार पनि कटौती गर्ने भन्ने बहस छ ।

दुईतिहाइ बहुमतसहित सत्ताको बागडोर सम्हालिरहेको नेकपामा पछिल्लो १० दिनदेखि विवाद चर्किएको छ । प्रदेशको नेतृत्व चयनमा एकलौटी गरिएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपालले सार्वजनिक रुपमै असन्तुष्टि पोख्दा नेकपा तरंगित छ ।

नेपालले आफ्नो असन्तुष्टि लिखित रूपमै पार्टीमा बुझाएका छन् । नेपालको असन्तुष्टि सम्बोधनसहित तल्ला कमिटी, भ्रातृ संगठनको एकता प्रक्रिया टुंग्याउनका लागि भन्दै आइतबार बोलाइएको सचिवालय बैठक अध्यक्षद्वयको वेस्तताका कारण भन्दै बसेन । नेपाल पक्ष पछिल्लो समय विधान विपरित गरिएको निर्णय सच्याउन स्थायी कमिटीको बैठक बोलाउनु पर्ने पक्षमै छ ।

उता, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताको रस्साकस्सीका कारण जनजीविकाका मुद्दामा सरकारलाई ¥याख¥याख्ती पार्नुपर्ने प्रतिपक्षी दायित्वमा कांग्रेस निरन्तर चुकिरहेको छ ।

पार्टीलाई संघीय संरचनाअनुसार लैजाँदा सभापतिलाई थप शक्तिशाली बनाउने कि अहिलेकै अधिकार पनि कटौती गर्ने भन्ने विषयमा कांग्रेस समूहगत रुपमै विभाजित हुँदा सरकारको काम कारवाहीको विरोधलाई जनभावनाको प्रतिनिधित्व गर्ने सवालमा उसको भूमिका निस्प्रभावी छ ।

सभापतिको अधिकार खुम्च्याउँदा पार्टी सञ्चालनमा समस्या परेको भन्दै संस्थापन पक्ष बढाउनु पर्ने र पौडल समूह थप पेलिन सक्ने आशंकामा बढाउन नहुने पक्षमा छ । पार्टीको विवाद समाधान र सरकारको निगरानीभन्दा कांग्रेसको शीर्ष नेता आसन्न महाधिवेशनमा केन्द्रित हुन थालेका छन् ।

सत्तारुढ र प्रमुख प्रतिपक्षी दुवै आन्तरिक किचलोमा रहँदा उनीहरुबीच दुई वटा समानता भने छ । पहिलो–संस्थापन पक्षले एकलौटी गरेको इतर समूहको गुनासो । र, दोस्रो–नेतृत्वले विधान, विधि र प्रक्रिया बाहिर गएर पार्टी सञ्चालन गरेको आरोप । नेकपामा त्यसको नेतृत्व माधव नेपालले गर्दा कांग्रेसमा रामचन्द्र पौडेलले गरिरहेका छन् ।

 

LIVE TV