२१ आश्विन २०७५, आईतवार

काठमाडौं। सरकारले कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन स्वीकृत गरेपछि गृह मन्त्रालयले आइतबार साँझ नै पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन वेवसाइटमार्फत सार्वजनिक गरेको हो ।

सैंतीस पृष्ठको प्रतिवेदनले घटना अनुसन्धानमा तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्टले हेलचेक्र्याई गरेको र निर्मलाकी साथी अनिता वमको गतिविधि शंकास्पद रहेको भन्दै दुबैविरुद्ध थप अनुसन्धान गर्नुपर्ने निष्कर्ष दिएको छ । घटनाको गम्भीरता प्रतिकुल काम गरेको भन्दै समितिले विष्टलाई विभागीय कारबाही गर्न पनि सुझाव दिएको छ । समितिको प्रतिवेदनले निर्मलाको हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामुहिक बलात्कार भएको विश्लेषण गरेको छ ।

निर्मलाको बलात्कार र हत्या अन्यत्रै गरेर उखुबारीमा शव फालिएको समितिको ठहर छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले तयार पारेको सनाखत मुचुल्कामा निर्मलाको रातो कलेजी रंगको सुरुवाल, रातो रंगको भेष्ट र खरानी रंगको पेन्टी लगायत साइकल, कापी प्रहरीले बरामत गरी लगेको उल्लेख भएपनि बरामत गरिएका उल्लेखित वस्तु हाल नभेटिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

घटना विवरणमा केन्द्रित प्रतिवेदनमा अभियुक्तबारे केही खुलाइएको छैन । यसअघि साउन १० साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । अहिलेसम्म विभिन्न समितिले अनुसन्धान जारी राखेको बताइए पनि घटनाको दोषी पत्ता लाग्न सकेको छैन ।

LIVE TV