२१ आश्विन २०७५, आईतवार
  • सरिना मिरासिनी

रुपन्देही । नेपालीहरुको महान चाड विजयादशमी, दिपावली, छठ लगायतका पर्वहरुमा अवान्छित गतिविधि हुन नदिइ शान्ति सुरक्षा कायम गर्न र अमन चयन तुस्तदुरुस्त राख्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्व लक्षित सुरक्षा योजना–२०७५ कार्यान्वयन गर्न लागेको छ ।

मौजुदा जनशक्तिको प्रभावकारी परिचालन गरी आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्धेश्यले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक एसपी हृदय थापाले बताउनु भयो ।

चाडपर्वको मौका छोपी हुने चोरी, लुटपाट, चन्दा संकलन, झै–झगडा, मादक पदार्थ सेवन, सवारी दुर्घटना, अवैध हातहतियार आयात, सीमा क्षेत्रमा हुने लागूऔषध तथा मानव ओसारपसार, लुटपाट, अनावश्यक हैरानी जस्ता अपराधिक गतिविधि, तस्कारी, पटका, आतिसवासी तथा विष्फोटक पदार्थको आयात लगायतका गतिविधि नियन्त्रण गर्ने प्रहरीको मुख्य उद्धेश्य रहेको थापाले जानकारी दिनुभयो ।

चाडपर्वमा व्यक्ति तथा सम्पत्तिको सुरक्षा, आर्थिक कारोबार हुने बैंक तथा वित्तीय संस्थाहरु, गरगहना पसलहरु, स्वदेश तथा विदेशबाट घर फर्कने यात्रुहरु, लामो रुटको सवारीसाधन, महत्वपूर्ण प्रतिष्ठानहरु, भिआइपी/भिआइपीहरुको कार्यक्रम, सरकारी कार्यालयहरु, घर खाली गरी अन्यत्र जानेहरुको सम्पत्ति, सांस्कृतिक कार्यक्रमस्थल लगायतको सुरक्षा तथा नियमन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV