२१ आश्विन २०७५, आईतवार

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले अब प्रहरीमा शुद्धिकरणको अभियान चलाउने बताएका छन् । आइतबार प्रहरी दिवस रनिङ कप भलिबलको समापन कार्यक्रमलाई सम्बोधन गर्दै आइजीपी खनालले केहि प्रहरी अधिकृतको कारणले प्रहरी संगठन नै बदनाम हुन लागेको भन्दै प्रहरीमा शुद्धिकरण गर्ने बताएका हुन् ।

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या घटनामा अपराधीलाई कार्बाही गर्नुपर्ने प्रहरी स्वयम् प्रमाण नष्ट गर्न लागेको भन्दै आलोचित भइरहेकाका बेला प्रहरी आइजीपी खनालले प्रहरी संगठनका ‘धमिरा’ लाई छानीछानी गरेरे हटाउने बताएका हुन् ।

सम्बोधनका क्रममा आइजीपी खनालले प्रहरी संगठनलाई अब थप आलोचित नबन्ने अवस्था बनाइने बताए। उनले प्रहरी संगठनलाई व्यवस्थित प्रहरी संगठनको रूपमा स्थापित गर्ने समेत प्रतिबद्धता गरे । आफू प्रहरी संगठनमा बस्नका लागि चाहिने आचरणका बारेमा पटक–पटक निर्देशन दिइसकेको बताउँदै भने, ‘आफूलाई सुधार नगर्ने तर, संगठनलाई नै बदनाम बनाउन खोज्नेहरुलाई खोजी-खोजी फाल्छु ।’

‘केही पदाधिकारीले गर्दा सिङ्गो प्रहरी संगठन र इमान्दार प्रहरी अधिकारीहरु समेत लाञ्छनाको शिकार हुनु परिरहेको अवस्था छ,’ उनले थपे, ‘सुध्रिने मौका दिइसकेको छु । अब यस्ता धमिरालाई टिपेर फाल्ने अभियान चलाउँछु । यसमा सबैको साथको खाँचो छ ।’

प्रहरीले कुनै गल्ती गर्नु हुँदैन भन्ने अपेक्षा जनताको रहेको भन्दै उनले हरेकले ‘म प्रहरी हुँ, राम्रो गर्नुपर्छ र गलत बाटोमा लागेको साथीलाई सच्याउनु पर्छ’, भन्ने भावनाले काम गर्ने हो भने यो सम्भव भएको धारणा राखे । उनले आफू नागरिकको अमन चयनका लागि दिनरात खटिरहेको जानकारी गराउँदै प्रहरी संगठनको मूल्य र मान्यतामा रहेर जनताको सेवा गर्न प्रहरीहरुलाई आग्रह समेत गरेका छन् ।

यो पनि पढ्नुहोस् :

‘सत्य सेवा सुरक्षणम्’को मूल मन्त्र बोकेको प्रहरी ‘आपराधिक सेवा सुरक्षणम्’ नबनोस् !

LIVE TV