२१ आश्विन २०७५, आईतवार
  • दीपक भट्ट,

रामेछाप । बिनासकारी भुकम्प गएको तीनवर्ष बितिसक्दा पनि रामेछापका २ सय ८२ वटा क्षतिग्रस्त विद्यालय भवनहरु नबन्दा विद्यालयमा अध्ययनरत बालबालिकाहरु अझै अस्थायी टहरामा नै बसेर अध्ययन गर्न वाध्य भएका छन् ।

भुकम्पले जिल्लाका ४ सय १९ वटा सामुदायिक विद्यालयका १ हजार ९ सय ३५ कक्षा कोठाहरु पूर्णरुपमा क्षती पुरयाएपछि ती विद्यालयहरुमा अध्यनरत वालवालीकाहरु अस्थायी टहरामा वसेर अध्ययन गर्दै आएका छन् । अस्थायी टहरामा पढ्दै आएका वालवालीकाहरुलाई नयाँ कक्षा कोठामा सार्ने सरकारी निति अनुरुप अहिले रामेछापमा केही विद्यालय भवन निमार्णको कामले तिव्रता पाएको छ भने अझै २ सय ८२ वटा सामुदायिक विद्यालयका भवनहरु कहिले निमार्ण हुने हो कुनै टुङ्गो छैन् ।

भुकम्प गएको दुई वर्षसम्म अस्थाडी टहरामा नै वसेर पढेका विद्यार्थीहरु विद्यालयको हाताभित्र नयाँ भवन निर्माण होला र ढुक्कसँग नयाँ भवनमा बसेर पढौला भन्ने आशा लिएका वालवालिकाहरुले यसवर्षको जाँडोको पढाई पनि अस्थायी टहरामा नै पढ्नु पर्ने भएको छ । सरकारले समयमा नै क्षतिग्रस्त विद्यालयका भवनहरु निमार्ण गर्न पहलकदमी नगर्दा कलिला वालवालिकाहरुको बेहाल भएको हो ।

जिल्लामा दुई वर्षअघि एसियाली विकास बैंक, शिक्षा मन्त्रालय अन्तर्गत केन्द्रिय कार्यान्वयन इकाई, विभिन्न गैरसकारी संस्थाहरु र जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत १ सय ३७ वटा विद्यालयहरुको निमार्णको काम अघि वढेको भएता पनि अन्य विद्यालयका भवन निमार्णको काम भने अझै अन्यौलता रहेको छ । एडिबी मार्फत रामेछापमा १९ वटा विद्यालयहरु निमार्ण गरिदिने भएको छ । जसमध्ये पहिलो चरणमा ११ वटा विद्यालय निमार्ण गर्न एडिबीले १ अर्ब १८ करोड ८२ लाख ५ हजार ८ सय ४८ रुपैयाँको लागतमा निमार्णाधिन विद्यालयको काम अन्तिम चरणमा पुगेको छ ।

निमार्णधिन विद्यालयहरु मध्ये मन्थली नगरपालिका वडा नं–७ को रुद्राक्षेश्वर मावि, मन्थली–१ को नागकन्या मावि, लिखुतामाकोशी गाउँपालिका वडा नं–६ को नवदर्शन मावि तिल्पुङको विद्यालय भवन निमार्णको काम सकेर निमार्ण व्यवासायीले विद्यालयलाई हस्तान्तरण गरिसकेको छ । हस्तान्तरण भएका ती विद्यालयमा गत वैशाखवाट नै कक्षा संचालन भइसकेका छन् । बाँकी निमार्ण भइरहेका पकरवास,रामेछाप, देउराली, सुनारपानी, माकादुम लगाएतका विद्यालय भवन पनि निमार्णको अन्तिम चरणमा पुगेको र केही समयमा नै बुझाउने तयारी भइरहेको जिल्ला आयोजना कार्यान्वयन इकाई रामेछापका इकाई प्रमुख हेमन्त बुढाथोकीले जानकारी दिए ।

जिल्लामा १ सय ३७ वटा विद्यालयहरु निर्माण भएता पनि अझै २ सय ८२ वटा विद्यालयहरु निर्मार्ण हुन सकेका छैनन् । ती विद्यालयहरुमा अध्ययरत वालवालीकाहरु अझै कति वर्षसम्म अस्थायी टहरामा वसेर अध्ययन गर्नु पर्ने हो अझै टुङ्गो छैन । लामो समयसम्म पनि विद्यालय भवन नबन्दा विद्यार्थी र शिक्षकहरु मात्रै हैन अभिभावकहरु समेत अन्यौलमा परेका हुन् ।

LIVE TV