२१ आश्विन २०७५, आईतवार
  • छविलाल बगाले

भारी मात्रामा पुँजी वृद्धि गरेका वाणिज्य बैंकहरु लगानी विस्तारमा अाक्रामक देखिएका छन् । २८ वटै वाणिज्य बैंकले चालू आर्थिक वर्षको ७४ दिनको अवधिमा ९७ अर्ब लगानी गरेका छन् । लगानीयोग्य पुँजी (तरलता) सहज भएपछि बैंक कर्जा लगानीमा आक्रमक देखिएका हुन् ।

असार मसान्तसम्म २१ खर्ब ११ अर्ब रहेको वाणिज्य बैंकहरूको लगानी असोज १२ गतेसम्म बढेर २२ खर्ब आठ अर्ब पुगेको छ । २८ वटा वाणिज्य बैंकले चालू आर्थिक वर्षको ७४ दिनको यो अवधिमा ९७ अर्ब लगानी गरेका हुन् ।

बैंकहरूले दैनिक एक अर्ब ३१ करोडका दरले विभिन्न क्षेत्रमा आक्रामक ढंगबाट लगानी गरिरहेका छन् । कर्जाको अत्याधिक मागका कारण बैंकहरूले कर्जा बढाएका हुन् ।

यसअघि कर्जाको माग भए पनि लगानीयोग्य पुँजीको अभावमा लगानी गर्न सकिरहेका थिएनन् । गत आर्थिक वर्षको अन्त्यमा बैंकिङ प्रणालीमा सरकारले खर्च गरेको रकम आएपछि भने बैंकहरुले आक्रामक रुपमा कर्जा लगानी बढाएका हुन् ।

चालू आर्थिक वर्षको असोज १२ गतेसम्म बैंकहरूले जम्मा ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जबकि असार मसान्तमा बैंकहरूको कुल निक्षेप २४ खर्ब ७० अर्ब थियो । यो अहिले बढेर २५ खर्ब २० अर्ब पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV