२१ आश्विन २०७५, आईतवार
  • अमर काफ्ले

सुनसरी। पछिल्लो समय नेपालमा क्रिकेट प्रतिको मोह बढ्दो छ । नेपालको राष्ट्रिय क्रिकेट टिम होस् या क्रिकेटरहरूको अन्तर्राष्ट्रिय स्तरमा आस लाग्दो प्रदर्शन । जसको छाप नेपाली समाजमा समेत देखा पर्न थालेको छ । गाउँ शहरमा क्रिकेट प्रतियोगिताहरू आयोजना हुने क्रम बढेको छ । यहाँ सम्मकी रात्रि कालीन क्रिकेट समेत नेपालमा लोकप्रिय बन्न थालेको छ ।

इनरुवा खेल मैदान धेरैका लागि नौलो नाम बन्न सक्छ । तर यति बेला सबैको ध्यान सुनसरी सदरमुकाम इनरुवामा रहेको खेल मैदानमा केन्द्रित बनेको छ । मुलुकमै पहिलो मानिएको रात्रि कालीन टि-२० क्रिकेट इनरुवामा सुरु गरिएको छ । हुनतक यसअघि मुलुकका केही प्रमुख सहरहरूमा रात्रि कालीन क्रिकेट भैसकेका छन् ।

टेनिस बलबाट खेलिएको क्रिकेट खेललाई आधिकारिक नमानिने हुँदा ड्युज बलबाट सुनसरीको इनरुवामा खेलाइएको टि-२० प्रतियोगिता नेपालकै लागि पहिलो भएको आयोजकको दाबी छ । इनरुवा नगरपालिका मुख्य प्रायोजक रहेको प्रथम रात्रि कालीन मेयर कप टि-२० क्रिकेट प्रतियोगिताको शुभारम्भ भव्य रूपमा गरिएको थियो ।

इनरुवा नगर प्रमुख राजन मेहता, कोशी गाउँपालिका अध्यक्ष अयुब अन्सारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै वडाध्यक्षहरुले एकसाथ प्रतियोगिताको उद्घाटन गरेका थिए । आयोजक फुलबारी क्रिकेट क्लब इनरुवाले स्थानीय निकाय लगायतबाट आर्थिक रकम जुटाएर प्रतियोगिता संचालनमा ल्याएको हो । प्रतियोगितालाई लिएर निकै टिका टिप्पणी भए पनि खेल सञ्चालन भएपछि भने खेल हेर्ने दर्शकको बाक्लो भीड देख्न थालिएको छ ।

काठमाडौं, धनगढी, विराटनगर, झापा, सप्तरी र नेपाल प्रहरीसहित दश टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले १ लाख ५० हजार र दोस्रो हुनेले ७५ हजार सहित ट्रफी पाउने छ । प्रतियोगिता अन्र्तगत सम्पन्न उद्घाटन खेलमा बेलबारी विजयी भएको छ । टस जितेर बेलबारीले फिल्डिङ गर्ने निर्णय गरेपछि आयोजक फुलबारी क्रिकेट क्लब इनरुवा ब्याटिङमा उत्रिएको थियो ।

फुलबारीले उत्कृष्ट सुरुवात गरे पनि निर्धारित २० ओभर खेल्दै १ सय ४१ रनको विजयी लक्ष्य पेस गरेको थियो । फुलबारीका लागि गौतम शर्माले ५० रन बनाएका थिए । जवाफी ब्याटिङमा उत्रिएको बेलबारीले १९ दशमलव ४ ओभर खेल्दै लक्ष्य भेटाएको थियो । म्यान अफ दि म्याच सरोज बस्नेतको २६ रन सहित १ विकेट मद्दतमा बेलबारीले ६ विकेटको जित दर्ता गरेको छ । प्रतियोगिता अन्र्तगत आज राति हुने दोस्रो खेलमा काठमाडौं र विराटनगर आमने सामुन्ने हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV