२१ आश्विन २०७५, आईतवार

काठमाडौँ। विसं २०६१ मा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाको छोटो समयमा प्रकाण्ड बौद्धविद्धान उत्पादन गर्ने महत्वपूर्ण केन्द्रको रूपमा अघि बढेको छ ।

सरकारबाट सो विश्वविद्यालय स्थापना भएको लामो अवधिसम्म पनि एउटा सानो भवनबाट सञ्चालन भई आएको र थोरै बजेटका बाबजुद पनि यो विश्वविद्यालय १४ वर्षको अवधिमा बौद्धधर्म अध्ययन गरी विद्यावारिधि गर्नेको सङ्ख्या १८ पुगेको छ भने ९३ जनाले बौद्ध दर्शन लिई स्नात्तकोत्तर तह उत्तीर्ण गर्न सफल भएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल परम्परागत बौद्धधर्म सङ्घ तथा त्रिरत्नकोषको संयुक्त तत्वावधानमा शनिबार आयोजित कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले विश्वविद्यालयका प्रथम उपकुलपति डा तुल्सीराम वैद्यले नेतृत्व गर्दा शून्यबाट शुरु भएको सो विश्वविद्यालय हालसम्म आउँदा ठूलो फड्को मार्न सफल भएको बताउनुभयो ।

डा. बज्राचार्यले विश्वविद्यालयले प्राज्ञिक गुरुयोजना, मानव संशाधन गुरुयोजना, भौतिक पूर्वाधार गुरुयोजना तथा वित्तीय गुरुयोजना तर्जुमा गरी लागू गरेको जानकारी दिनुभयो । विगतमा थेरावाद बौद्धधर्म, महायान बुद्धधर्म, एप्लाइड बुद्धधर्म, बुद्धिजम एण्ड हिमालयन स्टडीज तथा बुद्धिजम एण्ड पिस स्टडिजमा सीमित सो विश्वविद्यालयको पढाइमा थप नौ विषय थप गरी कूल १४ विषयमा पढाइ भइरहेको उहाँले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. कमलकृष्ण जोशीले लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापनाकालमा पूर्वाधार शून्य रहेको र बजेट पनि नभएको बताउँदै आफू त्रिवि विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष रहेको बेला पहिलो पटक रु एक करोडको बजेट निकासा गरेको स्मरण गर्नुभयो ।

लुम्बिनीमा जन्मेका भगवान् गौतम बुद्धको शान्तिको सन्देश विश्वमा पु¥याउने तथा गौतमबुद्धको बौद्धग्रन्थहरू अध्ययन अध्यापनलाई प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रियस्तरकै एक उत्कृष्ट बौद्ध अध्ययन केन्द्रका रूपमा स्थापित गर्ने परिकल्पना गरिएको छ ।

विश्वविद्यालय प्रारम्भमा पाँच शिक्षण सहायक र एक उपप्राध्यापकको दरबन्दीबाट शुरु भएको हो । विश्वका विभिन्न ५२ विश्वविद्यालय तथा बौद्ध संस्थाको अध्ययन गरी लुम्बिनी बौद्ध विश्वविद्यालयले गुरुयोजना तर्जुमा गरेको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले भृकुटीमण्डपको सानो कोठाबाट शुरु भएको लुम्बिनी बौद्ध विश्वविद्यालय बुद्धधर्मको अध्ययनकर्ताका लागि खुला पाठशालाको रूपमा विकास भएकोमा खुशी व्यक्त गर्नुभयो ।

नेपाल परम्परागत बौद्धधर्म सङ्घका उपाध्यक्ष मन्जुश्री रत्न बज्राचार्यले बुद्धको जन्मस्थल लुम्बिनीमा बौद्ध विश्वविद्यालयको स्थापनापछि बौद्धग्रन्थ अध्ययन गर्ने जिज्ञासुलाई ज्ञानप्राप्त गर्ने अवसर मिलेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV