२० आश्विन २०७५, शनिबार

काठमाडौँ, २० असोज : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बुङ्गमतीजस्ता सम्पदा बस्तीको मौलिक ढङ्गमा पुनःनिर्माणका लागि प्रोत्साहनका कार्यक्रम ल्याइएको बताउनुभएको छ ।

बुङ्गमती क्षेत्र पुनःनिर्माण तथा विकास परिषद्को प्रथम वार्षिक साधारणसभामा आज बुङ्गमतीमा सम्बोधन गर्नुहुँदै उहाँले सम्पदा बस्तीभित्रका घर मौलिक शैलीमा पुनःनिर्माण गर्दा प्रति घर रु ५० हजार थप रकम प्राप्त हुने प्राधिकरणको पछिल्लो निर्णयबारे जानकारी गराउनुभयो ।

“बुङ्गमतीको मौलिक स्वरुपमा पुनःनिर्माण गर्दा ठूलो सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटक ल्याउन सकिन्छ, यसले जीविकोपार्जनमा टेवा पुग्छ, सम्पदा बस्ती पुनःनिर्माणका लागि पूर्वाधार विकास गर्न पनि प्राधिकरणले सहयोग गर्छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा सङ्घीय सांसद पम्फा भुसालले बुङ्गमतीलाई समेटेर सम्पदा पर्यटकीय चक्रपथ बनाउने योजना रहेको बताउनुभयो । “कला, संस्कृति र सम्पदाको संरक्षणबाट नै यस क्षेत्रको संवृद्धि संभव छ, सम्वृद्धिका लागि पनि मौलिक बस्ती पुनःनिर्माणमा सबैले सहयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

प्रदेशसभा सदस्य जीवन खड्काले यसअघिको कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुङ्गमती पुनःनिर्माणको गुरुयोजना अनावरण गर्नुभएकोले त्यसलाई सफल पार्न स्थानीयवासीको पनि महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

परिषद्का अध्यक्ष प्रेमभक्त महर्जनकाअनुसार बुङ्गमती क्षेत्रमा ८०५ जनाले निजी आवास निर्माणका लागि अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये ५९३ पीडितले पहिलो किस्ता लिएका छन् । घर निर्माण शुरु गरेर दोस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या भने निकै कम रहेको उहाँले उल्लेख गर्नुभयो ।

भूकम्प प्रभावित लाभग्राहीले नक्सा बनाउन नसक्नु, सम्पदा क्षेत्र भएका कारण पास गर्न कठिनाइ हुनु, भोगचलनको समस्या तथा घरजग्गा दर्ता नहुनु आदि समस्या रहेको अध्यक्ष महर्जनले बताउनुभयो ।

पुनःनिर्माणको शुभारम्भ कार्यक्रमअन्तर्गत विसं २०७२ माघ २ गते प्रधानमन्त्री ओलीले युएन ह्याबिट्याटले निर्माण गरेको बुङ्गमती गुरुयोजनाको नक्सा अनावरण गर्नु भएको थियो ।

LIVE TV