२० आश्विन २०७५, शनिबार
  • सुमन कार्की,

पाल्पा । सुत्केरी गराउने महिलालाई सरकारले दिने भत्ता पाल्पामा प्रभावकारी बन्न सकेको छैन । सरकारी व्यवस्थाबारे जानकारी हुन नसकेका कारण सुत्केरी भत्ता कार्यान्वनय प्रभावकारी हुन नसकेको हो । कतिपय प्रसुती केन्द्रले बजेट अभाव रहेको बताउने गरेका छन् ।

सरकारले सुत्केरीलाई २ हजार रुपैयाँ र प्रोत्साहन वापत ८ सय रुपैयाँ दिने गरेको छ । आर्थिक वर्ष ७४÷७५ मा पाल्पामा यो सुविधा पाउने महिला ५ हजार ५ सय रहेका छन् । मातृ तथा शिशु मृत्युदर घटाउने उद्देश्यले प्रोत्साहन भत्ता दिन थालिएको हो । तर, कार्यान्वयनमा भने समस्या देखिएको छ ।

बच्चा गर्भमा रहेपछि कम्तिमा चार पटकसम्म जाँच गराए मात्र प्रोत्साहन भत्ता पाउने व्यवस्थाप्रति धेरै महिला जानकार छैनन् । जसका कारण यो सेवाबाट बञ्चित हुनुपरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले अघिल्लो आर्थिक वर्षमा ५ हजार ५ सय महिला यो सेवाबाट लाभान्वित भएको तथ्यांक दिएको छ ।

पाल्पामा २५ वटा प्रसुति केन्द्र सहितका अस्पताल रहेका छन् । कतिपयले भत्ता दिने भएपनि कतिपयले बजेट अभाव रहेको भन्दै भत्ता दिन आनाकानी गर्ने गरेका छन् । महिलालाई प्रसुती भत्ताबारे जानकारी गराउन नसक्नु, स्पष्ट अनुगमनको अभाव समस्या रहेको कतिपयको बुझाइछ । प्रसुती भत्ताबारे जानकारी गराउन सके महिलाको संख्या बढ्नेछ । अर्कोतर्फ भत्ता नदिने अस्पतालमा अनुगमन पनि आवश्यक छ ।

LIVE TV