२० आश्विन २०७५, शनिबार

अमर काफ्ले

इनरुवा ।  सुनसरीको डुम्राहा र इनरुवामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सर्वसाधारणका घरआँगनमा पुगेर सुलभ स्वास्थ्योपचार पु¥याउने उद्देश्यसाथ सञ्चालित दुई दिने शिविरमा एक हजार बढीले स्वास्थ्य चेकजाँच गराएका छन् ।

 

माउण्टेन हर्ट नेपाल र इनरुवा नगरपालिकासंगको सहकार्यमा आयोजित स्वास्थ्य शिविरमा जेष्ठ नागरिक, असहाय, अशक्त साथै महिला तथा बालबालिकाहरु बढी लाभान्वित भएका थिए । डुम्राहामा अघिल्लो दिन शिविर आयोजना गरिएकोमा इनरुवाको महेन्द्रचोकमा शिविर सञ्चालन गरिएको हो । शिविरमा उपचार गराउनेहरुका हकमा औषधि लगायत आवश्यक सामग्री निःशुल्क उपलब्ध गराइएको छ ।

शिविर संयोजक समेत रहनु भएकी इनरुवा नगरपालिकाकी उप–प्रमुख जमुना गौतम पोखरेलले सर्वसाधारणमैत्री स्वास्थ्योपचारलाई सहज, सुलभ र सबैले अनुभूति गर्ने गरी कार्यान्वनमूखी बनाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो । उप–प्रमुख पोखरेलले इनरुवा नगरपालिका नगरवासीका हकमा सहज र गुणस्तरीय स्वास्थ्योपचारका सवालमा प्रतिवद्ध रहेको बताउँदै उपचारकालागि अन्यत्र भौतारिनु पर्ने तितो यथार्थबाट नगरवासीलाई छिट्टै छुटकारा दिलाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दीगो र परिणाममुखी कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताउनुहुने उपप्रमुख पोखरेलले समाजसेवासँगै सवलिकरण र सशक्तिकरणको पाटोलाई जोड दिँदै समृद्ध समाज निर्माणकालागि आफ्नो पहल कदमी जारी रहने विश्वास दिलाउनु भयो । यसअघि नगरपालिकाको मातहतमा रहेको इनरुवा अस्पताल अब भने प्रदेश सरकार मातहतमा गएको छ ।

हालसालै गठित अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जिल्ला समन्वय समिति सुनसरी सभापति गोपालराज भण्डारी अध्यक्ष रहनु भएको छ भने उपप्रमुख पोखरेल सहित अन्य सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV