२० आश्विन २०७५, शनिबार
  • प्रियालक्ष्मी कार्की,

काठमाडौं । राष्ट्रिय खेल घोषणा भएकोमा मख्ख परेको नेपालको भलिबल क्षेत्रले त्यही राष्ट्रिय खेलको शाख जोगाउने तर्फ भने ठोस कदम चालेको पाइदैन । कुनै पनि देशले राष्ट्रिय खेल हम्मेसी चुन्दैनन् , यस्का लागि धेरै घरेलु आधार त हुन आवश्यक छ नै त्यसमाथि पनि अन्तर्राष्ट्रिय प्रदर्शनमा पनि उत्तिकै अब्बल हुन जरुरी मानिन्छ ।

प्रियालक्ष्मी कार्की

नेपालमा भने भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुको पछि लामो समयदेखि राष्ट्रिय खेलविहीनको अवस्थालाई टार्न भन्दा माथि होइन कि भन्ने भान पनि पर्न थालेको छ । भौगोलिक लोकप्रियतालाई पहिलो आधार मानियो भलिबललाई राष्ट्रिय खेल घोषणा गर्दा , यस्को अन्तर्राष्ट्रिय हैसियत के छ र के थियो त्यो पनि प्रष्ट छ । यसपटक इण्डोनेशियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा प्राप्त समग्रमा पन्ध्रौं स्थानलाई हामीले ठूलो उपलब्धि मान्न विवश बन्यौ । के अब राष्ट्रिय खेल यी र यस्तै उपलब्धिमा फुलेर बस्ने त ?

भलिबल एक समय विद्यालय स्तरमा हुने लोकप्रिय खेलकुद प्रतियोगिता बीरेन्द्र शिल्डले बचाएको थियो । वास्तवमा नेपालको भलिबलको विकासका लागि यो प्रतियोगिता मेरुदण्ड नै बन्न पुग्यो । कालान्तारमा बीरेन्द्र शिल्ड पनि देशैभर ठप्प भएपछि भलिबलको ‘ग्रासरुट’ अर्थात जगमा नराम्ररी विचलन आयो । अहिले नेपालको भलिबललाई विभागीय संस्थाहरु नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्रसहित बिभिन्न क्लबहरुले बचाउँदै आएका छन् ।

तर ग्रासरुट अभ्यास अर्थात संस्कार खोइ त ? फुटबल पुनः ग्रासरुटमा फर्किदा क्रिकेटले पनि त्यही अभ्यासलाई चुमेको छ । तर भलिबलका लागि यस्ता दीर्घकालीन योजना बन्न सकिरहेको छैन् । त्यसमाथि सम्भावनाको ठूलो पर्दा उघारिसकेको महिला भलिबलमा भलिबलका लागि आधिकारिक सर्बोच्च संस्था नेपाल भलिबल संघ पनि उदासिन छ भन्ने कुराको पुष्टि इण्डोनेशियामा एशियाडले गरिसकेको छ । किनभने नेपालको महिला भलिबल टोलीलाई इण्डोनेशिया लाने उत्साह समेत देखाइएन । तर किन ? यस्को जवाफ विस्तारै सतहमा आउला नै ।

विद्यालय स्तरबाट बीरेन्द्र शिल्ड हराएपछि अर्को विकल्प त्यतिखेर नै खोजिन आवश्यक थियो । तर नेपाल भलिबल संघले त्यतिखेर यता सोच्न आवश्यक पनि ठानेन । अब भने भलिबल संघ सुतेर बस्ने नभई आफुमाथि आइपरेको अपार दायित्वलाई सक्षम बनाउन लागिपर्न आवश्यक छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्दा फुटबल र क्रिकेट एवं मार्सलआर्टको पक्षमा उभिएकाहरुले कुनै विरोध गरेनन् । यो भलिबलका लागि सुखद पक्ष बनेको छ । जस्लाई ‘क्यास’ गर्न भलिबल संघ उत्साहित हुनुपर्छ ।

जस्लाई साथ दिन सरकारदेखि जनतासम्म तयार नहुने कुरै छैन । नेपालमा अहिले भलिबल खेलाडी उत्पादनमा कहलिएको न्यु डायमण्ड एकेडेमी, टोरपाटन स्पोर्टस क्लव, जावलाखेल भलिबल क्लव र राष्ट्रिय प्रतियोगितामा दवदवा राख्ने बिभागीय टोली एपीएफ र उसलाई पछ्याइरहेको आर्मी र पुलिस । मुख्य गरी नेपालको भलिबल समग्रमा यिनै ६ क्लवको सेरोफेरोमा घुमेको छ । वर्षमा औषत दर्जनभन्दा बढी राष्ट्रिय प्रतियोगिता आयोजना हुने गरेका छन् । यो भलिबलको विकासका लागि सकारात्मक पक्ष हुन् ।

तर भलिबल संघ क्लब र विभागीय टोलीहरुको योगदानमा मात्र मख्न पर्ने अवस्था छैन् । विद्यालय स्तरबाट हराएको बीरेन्द्र शिल्डको विकल्पमा अर्को प्रतियोगिता आरम्भ गरेर अघि बढ्न आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV