२० आश्विन २०७५, शनिबार

काठमाडौं, २० असोज । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको दुई महिना भन्दा बढी भइसकेको छ । तर अझैं पनि निर्मलाका सक्कली अपराधी भने पक्राउ परेका छैनन् । यसरी लामो समयसम्म निर्मलाको बलात्कारी, हत्यारा पत्ता लगाउन नसकेपछि सरकारप्रति विभिन्न आलोचना तथा टिकाटिप्पणीहरुले सोसल मिडिया र समाचार माध्यमहरुमा राम्रो स्थान पाइरहेको छ ।

उही बलात्कारपछि निर्मम हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायको माग गर्दै आज पनि माइतीघर मण्डलामा सामाजिक अभियन्ताहरुले प्रदर्शन गरेका छन् । चिकित्सक डा गोविन्द केसी पनि निर्मलाको न्याय माग्दै माइतीघर पुगेका छन् । उनले ‘लाचार सरकार खबरदार, महिला हिंसा अन्त्य गर’ लेखिएको पर्चासहित उपस्थित भएका छन् ।

नयाँ शक्तिका कार्यकर्ता पनि झण्डा र ब्यानरहित माइतीघरमा उपस्थित भएका छन् । न्यायको मागप्रति ऐक्यबद्धता जनाउन जोसुकै आउन सक्ने आयोजकले जानकारी दिएका छन् । ‘निर्मलाका निम्ति न्याय’ अभियानको आह्वानमा स्वस्तफूर्त विभिन्न पेसा र क्षेत्रका व्यक्तिहरु प्रदर्शनमा सहभागी छन्।

‘गृहमन्त्रीको एक्शन बलात्कारीलाई संरक्षण’, ‘गृहमन्त्रीले राजीनामा दे, आइजीपीलाई बर्खास्त गर’, ‘लाचार सरकार खबरदार, महिला हिंसा अन्त्य गर’, ‘बढदै गयो बलात्कार कुरि कुरि सरकार’ लगाएतको पर्चासहित विभिन्न पेसा र क्षेत्रका व्यक्तिहरु प्रदर्शनमा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV