२० आश्विन २०७५, शनिबार

काठमाडौं । पत्रकार चेतनाथ आचार्यको पाँचौं कृति ‘उपहार’ कथासंग्रह शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ । संस्कृतिविद् सत्यमोहन जोशीले विमोचन गर्नुभएको उक्त कृतिमा आठवटा कथा समेटिएका छन् ।

आचार्य नेपाल-चीन सम्बन्ध र चीनका नेपाल सरोकारका विषयमा नेपाली सञ्चारमाध्यमहरुमा नियमित रुपमा लेख्दै आएका छन् । उनको नयाँ कथाकृति ‘उपहार’ विमाेचनपश्चात् बाेल्दै संस्कृतिविद् जोशीले भाषा र साहित्यका माध्यमबाट देशलाई चिनाउने काम गरेको भन्दै अाचार्यकाे प्रशंसा गर्नुभयो ।

समालोचक प्रा. राजेन्द्र सुवेदी र कथाकार माया ठकुरीले संग्रहभित्रका कथाहरु उच्च कोटीका रहेको र यसले समसामयिक नेपाली साहित्यमा विशिष्ट स्थान ओगट्ने बताउनुभयो ।

कथासंग्रहका भाषा सम्पादक समेत रहनुभएका लक्ष्मी पराजुली, सीआरआईकी नेपाली सेवा प्रमुख “बर्षा”लगायतले कृति र कृतिकारका बारेमा टिप्पणी गर्नुभएको थियो ।

इलाममा जन्मिएका कथाकार आचार्य चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआआई)को नेपाली सेवामा कार्यरत हुनुहुन्छ । यस कथा संग्रहमा संग्रहित कथाहरु इलामको ग्रामिण परिवेशका यथार्थ र मौलिक शैलीमा लेखिएका छन् ।

यसअघि उहाँका दुईवटा कथा संग्रह ‘रित्तो कोठाको तस्विर’ र ‘बुद्धको उपहार’ तथा दुईवटा संस्मरणात्मक संग्रहहरु ‘मेरो आँखामा चीन’ र ‘चीन चियाउँदा’ प्रकाशित छन् । उपहार कथासंग्रह मकालु प्रकाशन गृहद्वारा प्रकाशित भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV