१९ आश्विन २०७५, शुक्रबार

काठमाडौं । पारिवारका सदस्य एकै ठाउँमा भेला भएर मीठो–मसिनु खाँदै रमाइलो गर्नु दसैंको विशेषता हो । त्यसैले जहाँ भएपनि दसैंका बेला थातथलो फर्किने चलन छ । विदेशिएकाहरु पनि सकेसम्म फर्किन्छन् । फर्किदा परिवारका सदस्य वा आफन्तलाई ‘कोसेली’ ल्याइदिनु स्वभाविकै हो ।

तर, ख्याल नगरी ल्याउने हो भने तपाईँले ल्याएका सामान जफत पनि हुन सक्छ । तपाईले विदेशबाट ल्याउने कतिपय सामानमा भन्सार शुल्क लाग्दैन भने कतिपयमा सीमितता तोकिएको छ । विशेषगरी मोबाइल, टिभी तथा अन्य विद्युतीय सामान, गरगहना र मदिरा ल्याउँदा विचार पुया¥उनुपर्छ । यस्ता सामानमा सीमितता तोकिएकाले बढी भएमा जफत पनि हुन सक्छ ।

विदेशबाट आउनेले भन्सार तिर्न पर्ने/नपर्ने बस्तुको सम्वन्धमा भन्सार ऐन २०६४ को दफा ९ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निजी गुण्टा, झिटी भारी सम्वन्धी व्यवस्था गरिएको छ । जसले ल्याउने सामानमा सीमितता तोकेको छ ।

के कति ल्याउन पाइन्छ ?

  • – व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामानमा पूर्ण भन्सार छुट हुन्छ । लुगाफाटा, बरबिछ्यौना, गृहस्थीका पुराना सामान र औषधि उपचार गराई नेपाल फर्केका विरामीले ल्याउने औषधिमा कुनै भन्सार कर लाग्दैन ।
  • – शारीरिक रुपमा अशक्तले सहाराको रुपमा प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान ल्याउन पाइन्छ ।
  • – घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ, ट्याबलेट तथा ल्यापटप वा कम्प्युटर एक–एक थान ल्याउन सकिन्छ ।
  • – टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो एक–एक सेटसम्म ल्याउन पाइनेछ ।
  • – सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरियामा भन्सार छुट छ ।
  • – एक लिटरसम्मको मदिरा बोत्तलमा भन्सार शुल्क लाग्दैन । त्योभन्दा बढी ल्याए जफत हुन सक्छ ।
  • – पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामान एक–एक थानमा पूर्ण भन्सार छुट छ ।
  • – त्यस्तै शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायतका सामान पन्ध्र थान, घरायसी प्रयोगका सामान्य किसिममा उपकरण मिक्सर, जुसर, सिलाई मेसिन, आइरन, राइसकुकर लगायतका दुई थान सामानमा पूर्ण भन्सार छुट छ ।
  • – कुनै नेपाली नागरिकको विदेशमा बसोबास गरिरहेको समयमा मृत्यु भएको हो भनी प्रमाणित भएमा निज र निजको परिवारले निजी प्रयोग गरेको पुराना सामान (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल छुट हुन्छ ।

सरकारले दिएको सुविधाभन्दा बढी सामान ल्याउँदा भने तोके बमोजिमको महसुल तिर्नुपर्छ । तर कुनै यात्रुले भन्सारमा घोषणा नगरी कुनै सामान लुकाई छिपाई ल्याउने वा लैजाने प्रयत्न गरेमा त्यस्तो सामान जफत गरी प्रचलित कानुन बमोजिम कारबाही हुने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV