१९ आश्विन २०७५, शुक्रबार

काठमाडौं । कृषिप्रधान देश नेपालमा मागको ८५ प्रतिशतभन्दा बढी खसीबोका आयात हुन्छ । किसान बाख्रापालनबाट पलायन हुनु र युवाको बैदेशिक रोजगारप्रतिको मोहका कारण आन्तरिक मागअनुसार खसीबोका उत्पादन नहुँदा आयातको दर निकै उच्च छ ।

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा मात्रै ७७ करोड ५० लाख १५ हजार मूल्यका खसीबोको आयात गरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार भारत र चीनबाट साउन र भदौमा १ लाख १ सय ८५ वटा खसीबोका, च्याङ्ग्रालगायतका पशु नेपाल भित्र्याइएको हो ।

गत बर्षको सोही अवधिमा ६० करोड २१ लाख मूल्यका ८३ हजार ८ सय खसीबोका आयात गरिएको थियो । बाह्य मुुलुकबाट भित्र्याइएको खसीबोकाबाट चालु आर्थिक बर्षको २ महिनामा सरकारले ३ करोड ९० लाख र गत आर्थिक बर्षको सोही अवधिमा ३ करोड १ लाख राजस्व संकलन गरिएको छ ।

दशैं, तिहारजस्ता चाडपर्वका लागि अझै ठूलो परिणाममा खसीबोका आयात हुने आंकलन छ । दशैं नजिकएसँगै काठमाडौं उपत्यकासँगै मुलुकभर चौपाया खरिद–बिक्रि बढेको छ । दसैंका बेला उपत्यकामा मात्रै ६० देखि ७० हजार खसीबोका खपत हुने अनुमान छ ।

सरकारले अनुदान र सहुलियत कर्जा दिए बैदेशिक रोजगारीमा जाने युवालाई पशुपालनतर्फ आकर्षित गर्न सकिने व्यवसायी बताउँछन् ।

खसीबोकाको ८५ प्रतिशत आयात भारतको उत्तर प्रदेशबाट हुन्छ । केही च्यांग्रा छिमेकी देश चीनबाट पनि भित्रिन्छन् । गत दुई महिनामा ७ करोड ३ लाख बराबरका तयारी माछामासु पनि भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV