१९ आश्विन २०७५, शुक्रबार
  •  रामहरि श्रेष्ठ

ओखलढुङ्गा । अहिले दैनिक हजारौको संख्यामा युवाहरु वैदेशिक रोजगारीका लागि विदेशिने गरेका छन् । धनसम्पति आयआर्जनको ठूलो सपना बोकेर युवाहरु विदेशिने गरेका हुन् । तर ओखलढुंगामा तीन युवाहरु मिलेर आफ्नै माटोमा केही गर्ने लक्ष्य सहित व्यवसायिकरुपमै कृषि कर्म गर्न थालेका छन् ।

उनीहरुले ओखलढुंगाको सिद्धिचरण नगरपालिका १२ स्थित चन्दनेखोलाको किनारमा नमुना कृषि तथा पशुपंक्षी नामक फर्म दर्ता गरी ब्यवसाय सुरु गरेका छन् । सोलुखुम्बु घर भएका धनबहादुर कार्की सहित रेवती कार्की र निरकुमार गिरीले करिब डेढ करोडको लगानीमा फर्म सञ्चालनमा ल्याएका हुन् ।

हाल सानाठूला गरी र्फममा ७० भन्दा बढी खसी तथा बाख्रापाठा र ८० हेक्टर क्षेत्रफलमा अलैची लगाईएको छ । भिरालो जमिनमा पाईपमार्फत सिंचाईको ब्यवस्था गरी उनिहरुले ब्यक्तिगत लगानीमा व्यवसाय सुरु गरेका हुन् ।

कृषि मार्फत आत्मानिर्भर बन्न तथा युवाहरुलाई गाँउघरमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न समेत कृषि कर्ममा लागेको उनीहरुको भनाई छ । चार बर्ष अगाडिबाट सञ्चालन गरेको फर्मबाट हाललाई खसीबोका र ठूलो परिमाणमा अलैची उत्पादन हुदै आएको छ ।

तर आफुहरुले उत्पादन गरेका बस्तुका लागि बजारको अभाव रहेको फर्मका अर्का सञ्चालक निरकुमार गिरी बताउनु हुन्छ । अहिले ३० मन अलैची बिक्रि नभएर थन्किएको छ । उक्त उत्पादनलाई बजारसम्म पु¥याउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने उनीहरुको माग छ । जिल्लाकै नमुना मानिएको यो फर्ममा हाल दुई जना कामदारले नियमित रुपमा काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV