१९ आश्विन २०७५, शुक्रबार

काठमाडौंको नयाँ बसपार्कबाट दसैंका लागि टिकट बुकिङ गर्नेको संख्या अघिल्ला बर्षको तुलनामा निकै घटेको छ । असोज ९ गतेबाट अहिलेसम्म करिब ४८ हजारले मात्रै टिकट बुकिङ गराएका छन् । यातायात व्यवसायीका अनुसार यो गतबर्षको तुलनामा एक तिहाइ कम हो ।

दसैं नजिकिएका हिसावले टिकट बुकिङ गर्ने मध्य समय हो यो । तर, नयाँ बसपार्कमा त्यतिधेरै घुँइचो छैन । दसैंका बेला करिव २० लाख मानिसले काठमाडौं उपत्यका छोड्ने अनुमान गरिन्छ । तर, टिकट बुकिङ गर्ने मूल केन्द्र नयाँ बसपार्कबाट अहिलेसम्म करिब ४८ हजारले मात्रै टिकट सुरक्षित गरेका छन् ।

पूर्वनिर्धारित असोज ५ गतेबाट बुकिङ नलिइनु, सरकार र व्यवसायीको द्वन्द्वले अन्योल बढाउनु र बुकिङ खुलेको तीन दिनमै टिकट सकियो भन्ने हल्लाका कारण पनि यात्रुले बैकल्पिक उपाय अपनाएको हुन सक्ने यातायात व्यवसायीको अनुमान छ ।

यातायात व्यवसायीले बुकिङ काउण्टर उपत्यकाका प्रायः ठूला चोकमा पु¥याउनु तथा पूर्वी नेपाल र मध्य तराई जाने अधिकांशले वीपी राजमार्ग प्रयोग गर्ने भएकाले नयाँ बसर्पाकमा चाप कम परेको हो । अहिलेसम्म यात्रुले सहजरुपमै टिकट पाइरहे पनि घटस्थापनापछि मध्यम दूरीको रुटमा केही चाप बढ्न सक्ने र बढेअनुसार बसको संख्या बढाएर भएपनि सेवा दिइने व्यवसायीले जनाएका छन् । उता, टिकट सहजै पाइएपनि रोजेको सिट भने नपाइएको यात्रुको गुनासो छ ।

दसैंमा यात्रु बोकेका सवारी साधन जाममा नपरोस भनेर असोज २४ देखि ३१ गतेसम्म नारायणगढ–काठमाडौं सडक खण्डमा ठूला लहरी र ट्रक आवागमनमा रोक लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV